काठमाण्डौमा ह्वात्तै बढे कोरोना संक्रमित

  • २२ आश्विन २०७७, बिहीबार
  • 898 पटक पढिएको

काठमाण्डाै २२ असोज । देशभर कोरोना संक्तमितको कुल संख्या ९८,६१७ पुगेको छ। आज देशभर थपिएका ४३६४ संक्रमित मध्ये २ हजार ५४० जना काठमाडौं उपत्यकाका मात्रै रहेका छन् । मन्त्रालयका अनुसार काठमाडौंमा २ हजार ८५, भक्तपुरमा १३५ र ललितपुरमा ३२० संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा एक हप्तामा मात्रै १० हजार बढीमा संक्रमण देखिएको छ । निषेधाज्ञा खुकुलो भएसँगै स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन सरकारले आग्रह गरेको छ । स्वास्थ्य मापदण्ड पूर्ण नभएका कारण संक्रमितको संख्या बढिरहेको मन्त्रालयले जनाएको छ ।

यसैगरी नेपालमा कोरोनाबाट ४ महिला र ८ जना पुरुष गरी थप १२ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार काठमाडौंमा ७९ वर्षीया, ललितपुरमा ७३ वर्षीया, भक्तपुरमा ८२ वर्षीया र सुर्खेतमा ८२ वर्षीया महिलाको मृत्यु भएको छ । यस्तै सुनसरीमा ३९ वर्षीय, धनुषामा ७० वर्षीय, काठमाडौंमा ५८ वर्षीय, ९१ वर्षीय र कस्कीमा ८३ वर्षीय पुरुषको मृत्यु भएको छ । यस्तै चितवनमा ८१ वर्षीय, ८१ वर्षीय र ९२ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय ९० पुगेको छ ।

हालसम्म मनाङ र मुस्ताङमा बाहेक सबै जिल्लामा सक्रिय संक्रमित रहेका छन् ।  देशभर कोरोनाभाइरस निको हुनेको संख्या ७१ हजार ३४३ पुगेको छ । बितेको २४ घण्टामा थप २ हजार ६७५ जना निको भएसँगै कोरोना निको हुनेको कुल संख्या ७१ हजार ३४३ पुगेको हो । हाल कोरोना जितेर डिस्चार्ज भएकाको प्रतिशत ७२ दशमलब ३ रहेको छ । पछिल्लो २४ घण्टामा १८ हजार ४७३ जनाको पीसीआर भएको छ भने यससँगै कुल पीसीआर संख्या ११ लाख ३१ हजार ९५८ पुगेको छ । यस्तै देशभर सक्रिय संक्रमित २६ हजार ६४८ पुग्दा आजमात्रै ४,३६४जनामा संक्रमण पुष्टि भएको छ ।