सेनाद्धारा निर्मित २५ लाखको प्रतिक्षालय स्थानीय तहलाई हस्तान्तरण

  • २० आश्विन २०७७, मंगलवार
  • 2517 पटक पढिएको

एसके थकाली

जोमसोम २० असाेज । नेपाली सेनाले मुस्ताङको घरपझोङ गाउँपालिका—४ जोमसोममा यात्रु प्रतिक्षालयसहितको एकतले पक्की शौचालय भवन निर्माण गरेको छ ।धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङ भ्रमण गर्न आउने पर्यटक तथा तिर्थालुको सुविधाका लागि नेपाली सेनाको जोमसोम स्थित बज्रदल गणले २५ लाख लागतमा उक्त प्रतिक्षालयसहितको शौचालय भवन निर्माण गरेको हो ।

नेपाली सेनाले प्राकृतिक प्रकोप तथा विपत उद्दारमा मात्र होईन ,जनहित र नागरिकको सेवा सुविधाका लागि पनि विभिन्न प्रकारको क्वीक पूर्वाधार निर्माण गर्दै आईरहेको छ ।नेपाली सेनाको क्वीक प्रोजेक्टको रुपमा जोमसोममा निर्माण भएको प्रतिक्षालयसहितको शौचालयमा पुरुष तथा महिलालाई पायक पर्ने सुविधाको शौचालय निर्माण गरेको छ भने त्यससंगै यात्रुले सवारी प्रतिक्षा गर्न मिल्ने अनुकुलको प्रतिक्षालय( बिश्रामस्थल) निर्माण गरेको जनाएको छ ।

प्रतिक्षालयमा सेनाले काठको कुर्चि समेत राखिदिएको बज्रदल गणले बताएको छ । सेनाले क्वीक बजेटको रुपमा उपलब्ध रकम गाउँपालिकालाई उक्त पूर्वाधार निर्माण गर्न जिम्मा दिएको थियो । मुस्ताङ आउजाउ गर्ने पर्यटक तथा तिर्थालुको सुविधाका लागि निर्माण संम्पन्न गरिएको उक्त प्रतिक्षालयसहितको शौचालय मंगलबार पश्चिम पृतना हेडक्वाटरका पृतनापति उपरथी गोकुल भण्डारीले मुस्ताङको घरपझोङ गाउपालिका—४ का अध्यक्ष आशबहादुर थकालीलाई साँचो हस्तान्तरण गरी जिम्मा लगाएको छ ।

यसअघि प्रतिक्षलयसहितको शौचालयको उद्घाटन पश्चिम पृतनापति भण्डारीले उद्घाटन गरे । पृतनापति भण्डारीले नेपाली सेना राष्ट्र र नागरिक प्रति समर्पित रहेको बताए । पश्चिम पृतनाले गण्डकी प्रदेशको म्याग्दी ,पर्वत,स्याङ्जा ,बाग्लुङ लगायतका जिल्लामा विपत उद्दारमा सहयोग पू¥याएको बताउँदै पृतनापति भण्डारीले राष्ट्र र नागरिकको सहयोगका लागि नेपाली सेना सधै साथमा रहिरहने उल्लेख गरे । ‘पर्यटक तथा तिर्थालुको सुविधाका लागि पूर्वाधार निर्माण हामीले ग¥यौं ,उनले भने’ अब यसको हेरचाह र संरक्षण गर्ने दायित्व स्थानीय तहको रहन्छ ।’

घरपझोङ गाउपालिकाका अध्यक्ष आशबहादुर थकालीले नेपाली सेनाको सहयोगमा भएको प्रतिक्षालयसहितको शौचालय पूर्वाधारलाई गापाले संरक्षण तथा व्यवस्थापन गर्ने प्रतिबद्धता जनाए । अध्यक्ष थकालीले यात्रुको सुविधाका लागि सेनाको सहयोग सहनीय रहेको उल्लेख गर्दै यस्तै रचनात्मककार्यहरुमा नेपाली सेनाको सहयोग रहिरहने विश्वाश व्यक्त गरे ।

सेनाद्धारा निर्मित प्रतिक्षालय उद्घाटन कार्यक्रममा नेपाली सेनासहित प्रजिअ हिरादेवी पौडेल लगायत राजनितिक पार्टी प्रतिनिधि ,समाजसेवी ,संघसंस्था र पत्रकार लगायतको उपस्थिती रहेको थियो । मुस्ताङ सदरमुकाम जोमसोममा पर्यटक तथा तिर्थालुको सुविधाका लागि प्रतिक्षालय ,शौचालय र खानेपानीको असुविधा रहदै आएको थियो ।मुकाममा यी पूर्वाधार निर्माण नहुदा जोमसोम आउने पर्यटक तथा तिर्थालुले होटलमा खाजा÷खाना खाएर मात्रै शौलालय र खानेपानीको उपयोग गर्न पाउने बाध्यता थियो ।