प्रदेश ५ को प्रदेश सभा बैठकमा :काँग्रेस सांसदद्वारा कुर्सी तोडफोड

  • १९ आश्विन २०७७, सोमबार
  • 1191 पटक पढिएको

काठमाडौं । प्रदेश नम्बर ५ को प्रदेशसभा बैठकमा तनाव भएको छ । प्रदेशसभा बैठकमा काँग्रेस सांसदहरुले होहल्ला गर्दै संसद अवरुद्ध गरेका छन् भने सो क्रममा कुर्सी तोडफोड समेत भएको छ ।

राजधानी दाङ बनाउने प्रस्ताव सरकारले प्रदेशसभामा पेश गरेपछि तनाव बढेको छ ।  सोही क्रममा प्रमुख प्रतिपक्षी दल कांग्रेसले सोमबारको पहिलो बैठक पनि अवरुद्ध  गरेको थियो ।
पहिलो बैठक अवरुद्ध भएपछि बोलाइएको दोस्रो बैठकमा थप तनाव उत्पन्न भएको हो । बैठकमा कांग्रेस सांसदहरूले नाराबाजीसहित कुर्सी भाँचेका हुन् ।

काँग्रेसको नाराबाजी र तोडफोडका बीच पनि सभामुखले बैठक अघि बढाएका छन् । सभामुखले आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केशीलाई बोल्न दिएका छन् ।  अहिले बोल्ने र विरोध गर्ने क्रम जारी छ ।

कांग्रेसले सोमबार बिहान सरकारले ल्याएको प्रस्ताव केही दिनलाई रोकेर सबै पक्षसँग छलफलपछि मात्रै अघि बढाउन आग्रह गरेको थियो। सो प्रस्तावमा नेकपाले असहमति जनाएपछि काँग्रेस रुष्ट बनेको हो ।