सारेमारेको बेलबोटमा हत्या गरि गाडेको अबस्थामा महिलाको शव फेला, श्रीमान पक्राउ

  • १४ आश्विन २०७७, बुधबार
  • 1197 पटक पढिएको

म्याग्दी १४ असोज । म्याग्दीको बेनी नगरपालिका –१ सारेमारे बेलबोटमा श्रीमतीको हत्या गरेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन् । श्रीमतीको हत्या गरि छिमेकीलाई समेत थाहा नदिइकन शव गाडेको सूचनाका आधारमा बुधवार विहान घटनास्थलमा पुगेको प्रहरीले ३९ बर्षिया बिरबहादुर सार्कीलाई नियन्त्रणमा ल्याएको हो ।


घर नजीकैको बारीमा खाडल खनेर गाडिएको ४३ बर्षिया माया सार्कीको शबलाई खाडलबाट झिकेर परिक्षणको लागि बेनी अस्पतालमा ल्याईएको र अनुसंधानलाई अघि बढाईएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक किरणजंग कुँवरले जानकारी दिए । मंगलवार राती सार्की दम्पतीले मदिरा सेवन गरि झगडा गरेको र सोही क्रममा बिरबहादुरको कुटाईबाट मायाँको हत्या भएको पारिवारिक स्रोतबाट खुलेको छ । राती नै बिरबहादुरले घरछेउको बारीमा मायाको शबलाई खाडल खनेर गाडेका थिए ।

मंगलवार विहान छिमेकीले घटनाबारे जानकारी पाएपछि वडा कार्यालय मार्फत प्रहरीलाई खवर गरेका थिए । घरदेखि करिब १० मिटर टाढाको बारीमा गाडेको अबस्थामा शब भेटिएपछि स्थानीय वडाका जनप्रतिनिधिहरुको रोहोवरमा मुचुल्का तयार गरि शबलाई उत्खनन गरि परिक्षणको लागि ल्याएको घटनास्थलमा पुगेका जिल्ला प्रहरी नायब निरिक्षक धु्रवप्रसाद शर्माले जानकारी दिए ।