म्याग्दीका बाढीपहिरो पीडितलाई मगर संघको रु ५ लाख बराबरको राहत सहयोग

  • १३ आश्विन २०७७, मंगलवार
  • 1389 पटक पढिएको

म्याग्दी १३ असोज । म्याग्दीको मंगला ,मालिका र धवलागिरी गाउँपालिकाका अविरल बर्षातका कारण आएको बाढी पहिरो प्रभावित क्षेत्रका पीडितलाई नेपाल मगर संघद्धारा राहत वितरण गरिएको छ । नेपाल मगर संघ केन्द्रीय समितिको आह्वानमा अन्तर्राष्ट्रिय मगर महासंघको समन्वयमा मगर संघ बेलायत ,मगर संघ हङकङ र मगर संघ म्याग्दीले संकलन गरेको सो राहत बाढी पहिरोमा ज्यान गुमाएका ,बेपत्ता र पुर्ण क्षति ब्यहोरेका पीडित परिवारलाई वितरण गरिएको हो । बाढी पहिरोका कारण पुर्ण क्षति भई विस्थापित भएका मंगला गाउँपालिकाका १८ परिवारलाई राहत वितरण गरिएको छ ।

गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोका मगरको उपस्थितीमा विस्थापित परिवारलाई प्रति ५ हजारका दरले ९० हजार रुपैयाँ वितरण गरिएको छ । मालिका गाउँपालिकाका बाढी पहिरोमा ज्यान गुमाएका र बेपत्ता भएका परिवारलाई वडा नम्बर ७ का वडा सदस्य बुद्धी बहादुर जुग्जालीको उपस्थितीमा पीडित परिवारलाई ७५ हजार रुपैयाँ वितरण गरिएको मगर संघ म्याग्दीले जनाएको छ । बेपत्ता र मृतकका आफन्तलाई प्रति परिवार दश हजार रुपैयाँका दरले वितरण गरिएको छ । मालिकामा बाढी पहिरोमा परेर ८ जनाको ज्यान गएको थियो भने अझै दुई जना बेपत्ता छन् ।


यसैगरी, धवलागिरी गाउँपालिकाका विभिन्न ठाउँमा गएको पहिरोमा परेर ज्यान गुमाएका र बेपत्ता भएकाका आफन्तलाई प्रति परिवार दश हजार रुपैयाँका दरले वितरण गरिएको थियो । एक वा सो भन्दा बढी आफन्त गुमाएका परिवारलाई पाँच हजार थप गरिएको छ । सो राहत वडा नम्बर ६ का वडा अध्यक्ष राजाराम सुवेदीको उपस्थितीमा पीडित परिवारलाई वितरण गरिएको थियो ।


राहत वितरणमा मगर संघ म्याग्दीका निवर्तमान अध्यक्ष मनप्रसाद थजालीले बाढी पहिरोबाट पीडित भएकाहरुलाई राहत पुगोस भन्ने उदेश्यले बेलायत र हङकङ मगरसंघ मार्फत प्राप्त सहयोग संगै जिल्ला शाखाको अगुवाईमा जिल्लामा समेत थप सहयोग संकलन गरेर वितरण गरिएकोे बताउनुभयो ।मगर संघ म्याग्दीका निवर्तमान अध्यक्ष मनप्रसाद थजाली र उपाध्यक्ष लोक बहादुर पुन ‘लोकेश’ले पीडित परिवारलाई सो राहत वितरण गर्नुभएको थियो भने जिल्ला सचिव खम बहादुर थापा मगर र सहसचिव हिरा बहादुर पुनले संचालन गर्नुभएको थियो ।


जिल्ला भर बाढी पहिरो पीडित परिवारलाई पाँच लाख रुपैयाँँ बढी राहत वितरण गरिने मगर संघ म्याग्दीले जनाएको छ । अन्नपूर्ण गाउँपालिकाका पीडितहरुलाई राहत वितरण गरिसकेको संघले बेनी नगरपालिका वडा नम्बर २ भकिम्लीका बाढी पहिरो पीडित परिवारलाई बीस हजार रुपैयाँको राहत वितरण गरिने जनाएको छ । यसैगरी रघुगंगा गाउँपालिकाका पीडित परिवारलाई ८५ हजार रुपैयाँ वितरण गरिने जिल्ला सचिव खम बहादुर थापा मगरले बताउनुभयो ।