बेगखाेलामा पुल नहुँदा जोखिमपूर्ण तवरले यात्रा गर्नुपर्ने बाध्यता (भिडियो सहित)

  • ११ आश्विन २०७७, आईतवार
  • 1037 पटक पढिएको

म्याग्दी ११ असोज । बेनी–जोमसोम–कोरला सडक आयोजना अन्तर्गत म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगखोलामा मोटरेवल पुल नहुँदा खोलामा जोखिमपूर्ण तवरले सवारी वारपार गराउनुपर्ने बाध्यता आएको छ । सवारी वारपारको लागि मोटरेवल पुल संगै सर्वसाधारण र यात्रुहरु वारपार गर्ने झोलुङ्गे पुल नहुँदा सर्वसाधारण र यात्रुहरुले सास्ती खेपिरहेका छन् ।

मुस्ताङलाई राष्ट्रिय राजमार्गसंग जोड्ने एकमात्रै यस सडकखण्ड म्याग्दीको रघुगंगा गाउँपालिका १ तिप्ल्याङ, बाँदुक र अन्नपूर्ण गाउँपालिकाका स्थानीयले दैनिक जसो आवत जावत गर्ने मार्ग समेत हो । बर्षाहुँदा साथ खोलामा बाढी आउने भएकाले यहाँ सवारी साधन र यात्रुहरु दैनिकजसो अल्पत्र पर्ने समस्या रहेको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष क्याप्टेन डमबहादुर गर्वुजाले बताए ।

‘‘ अति नै समस्या भएको छ, मोटरेवल पुल बनाउनका लागि टेन्टर भएको सुनेका छौँ, तर अहिलेसम्म काम सुरु भएको छैन, हामीले सम्बन्धित निकायमा नियमित ध्यानकर्षण गराउँदै आएका छौँ’’–उनले भने । २०७३ भदौ १७ गते राति आएको बाढीले बेगखोलामा रहेका ११ घर सहित बेलिब्रिज र झोलुङ्गे पुल बगाएर बगर बनाएको छ ।


त्यसपछि हरेक बर्षका कम्तीमा चार महिना खोला वारपारमा सास्ती खेप्नुपर्ने बाध्यता रहेको घारका स्थानीय युवा विमल बरुवालले बताए । ‘‘ खोला ठुलो हुन्छ, तर्न सक्ने कुनै विकल्प हुँदैन, कम्तीमा पनि मानिस वारपार गर्ने झोलुङ्गे पुल तत्काल बनाउनतर्फ सम्बन्धित निकायको ध्यान जान जरुरी छ’’–उनले भने । बाढीले खोलामा वारपार गर्ने सवारी साधनलाई बगाउनेदेखि बिचमा अड्कीएर जोखिम र झण्झट व्यहोर्नुपरेको सवारी चालहरुको गुनासो छ ।


खोलामा दैनिक जसो निर्माण कम्पनीले डोजर परिचालन गरि खोलाको पानीलाई फराकिलो ठाउँबाट बग्ने प्रवन्ध मिलाउने गरेपनि बर्षाको कारण बाढी अनियन्त्रीत हुने गरेको छ । मोटरसाइकल चालकहरुले भने ५ सय देखि १ हजारसम्म शूल्क तिरेर ट्याक्टर माथि बाइक राखेर खोला वारपार गराउँदै आएका छन् ।


बेनी–जोमसोम–कोरला सडक आयोजनाका अनुसार, सडक विभागअन्तर्गतको पुल महाशाखाले बेगखोलामा मोटरेबल पुल बनाउन ठेक्का आह्वान गरिसकेको छ । तत्कालै मोटरेवल पुल बन्ने अबस्था नदेखिएकाले यस खोलामा वारपारको लागि झोलुङे पुल निर्माणको लागि गण्डकी प्रदेश सरकार संग माग गरिएको जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले जानकारी दिए ।