म्याग्दीका ओमप्रसाद पुर्जाको परिवारबाट कन्या माध्यमिकमा रु ५ लाख बढीको अक्षयकोष

  • ११ आश्विन २०७७, आईतवार
  • 1947 पटक पढिएको

म्याग्दी ११ असोज । पोखराको नदिपुरमा रहेको कन्या माध्यमिक विद्यालयलाई म्याग्दीका ओमप्रसाद पुर्जा पुनको परिवारले रु ५ लाख बढीको अक्षयकोष स्थापना गरिदिनुभएको छ । आफ्ना दिवंगत बुबा गंगाराम र आमा बनिसाराको स्मृतिमा रघुगंगा गाउँपालिका–१ बाँदुक घर भई हाल पोखरा नदिपुर बसोबास गर्दै आउनुभएका ओमप्रसाद र उहाँकी धर्मपत्नी मधुमायाँ पुर्जा पुनले रु ५ लाख ५ सय ६४ बराबरको अक्षयकोष स्थापना गरिदिनुभएको हो ।


आफ्नो ६४ औँ जन्मदिनको अवसरमा दिवंगत बुबा आमाको स्मृतिमा विद्यालयमा अक्षयकोष निर्माण गरेको सहयोगदाता ओमप्रसाद पुर्जा पुनले बताउनुभयो । कक्षा १२ सम्म पठनपाठन हुने सो विद्यालयमा कक्षा ११ र १२ मा अध्ययन गर्ने गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रावृत्ति सहयोगका लागि अक्षयकोष स्थापना गरेको उहाँले बताउनुभयो ।

पुनले सोही अवसरमा स्थानीय सुर्योदय युवा क्लबलाई समेत रु ५० हजार ५ सय १५ आर्थिक सहयोग गर्नुभएको थियो । उहाँलाई सो अवसरमा विद्यालयले सम्मान समेत गरेको थियो । पुनले यस अघि पनि विभिन्न सामाजिक गतिविधिहरुमा रचनात्मक सहयोग गर्दै आउनुभएको छ ।