जनविकास आधारभुत विद्यालयमा एकैदिन तीन वटा अक्षयकोष स्थापना

  • ११ आश्विन २०७७, आईतवार
  • 722 पटक पढिएको

म्याग्दी ११ असोज । म्याग्दीको धवलागिरि गाउँपालिका–६ आरबाङमा रहेको जनविकास आधारभुत विद्यालयमा एकैदिन तीन वटा अक्षयकोष स्थापना गरिएको छ ।
स्थानीय नाखे गुरुङले आफ्नो धर्मपत्नी लालमती गुरुङको स्मृतिमा रु १ लाखको अक्षयकोष स्थापना गर्नुभएको हो । त्यसैगरि गत असार २५ गते रातीको पहिरोमा आफन्त गुमाएका दुई घरपरिवारले समेत आफ्ना दिवंगत आफन्तको सम्झनामा विद्यालयमा अक्षयकोष स्थापना गर्नुभएको छ ।


धन बहादुर जुग्जालीले आफ्नो श्रीमती र दुई छोरीको स्मृतिमा रु ५० हजार राशीको हिमादेबी, करिश्मा, कन्चन स्मृति अक्षय कोष स्थापना गर्नुभएको छ । त्यसैगरि पहिरोमा आफन्त गुमाउनुभएका भिम प्रसाद जुग्जालीले आफ्नो श्रीमती गौसरा जुग्जाली, बुहारी दिमा जुग्जाली, नातिनी दिप्ती र दिवन जुग्जालिको स्मृतिमा रु २५ हजार बराबरको अक्षयकोष स्थापना गर्नुभएको छ ।


विद्यालयमा आयोजित एक कार्यक्रममा तीनै जनाले अक्षयकोष बराबरको रकम विद्यालयलाई हस्तान्तरण गर्नुभएको छ । विद्यालयका मुद्दती खातामा जम्मा हुने उक्त रकमबाट प्राप्त हुने आम्दानीबाट बिधालयमा गरिने अतिरिक्त कार्यक्रमहरुको खर्च तथा गरिब जेहेन्दार बिद्यार्थीहरुलाइ छात्रवृत्तिको लागि परिचालन गरिने विद्यालयका प्रअ तिलक गर्वुजाले जानकारी दिनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्ण बहादुर गुरुङको अध्यक्षता र प्रअ गर्वुजाको सञ्चालनमा सम्पन्न कार्यक्रममा विद्यालयका भूपु अध्यक्ष शान्त प्रसाद पुनलाई विदाई समेत गरिएको थियो ।

तस्बीर ः इश्वर सुवेदी