पौरखी पाइला : पशुपालनबाट रहरलाग्दो कमाई ( भिडियाे रिपाेट सहित

  • १३ आश्विन २०७७, मंगलवार
  • कमल खत्री
  • 2667 पटक पढिएको

कमल खत्री
बेनी, १३ असोज । बेनी नगरपालिका–६ अर्थुङ्गेका २७ बर्षका युवा कृषक कमल पौडेल पशुपालनबाट भएको आम्दानीबाट सन्तुष्ट हुनुहुन्छ । करिब ९ बर्ष अघि रोजगारका लागि विदेश जाने हुटहुटी चलिरहेकै बेला पौडेलले भने आफ्नै ठाउँमा पसिना बगाउने निधो गरी कुखुरा र गाईभैँसी पालनमा होमिनुभयो । पौडेलको फार्ममा अहिले १० वटा भैँसी र १ वटा गाई छन् ।

दैनिक उहाँको फार्मबाट १ सय लिटरको हाराहारीमा दूध उत्पादन हुन्छ । विहान उठेदेखि बेलुकीसम्म फार्ममा रहेका गाईभँैसीको स्याहार सुसार र दूधलाई बजारमा पु¥याउने पौडेलको नियमित दैनिकी हो । दुग्ध उत्पादनसंगै कुखुरा समेत पाल्दै आउनुभएका पौडेल गोठ र खोर निर्माण सहित यो व्यावसायमा करिब ५० लाख बढी लगानी भैसकेको बताउँछन् ।

अध्ययनको क्रममा केहि समय बेनीमा रोजगार समेत गरेका पौडेलले आफ्नो घर सदरमुकाम नजीकै रहेको र बजारको अभाब नहुने देखेपछि व्यवसायिक पशुपालनमा पाइला चाल्नुभएको थियो । ‘‘सुरुवातमा लगानी गर्ने पैसा पनि थिएन, बैँकबाट ऋण नै गरेर गाईभैँसी खरिद गरेँ, पछि दूध विक्रि गर्न थालेपछि यहाँबाटै भएको आम्दानीलाई यसै फार्ममा लगानी गर्दै आएको छु’’– पौडेलले भन्नभयो । गत बर्ष भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मार्फत मोडल फार्मको रुपमा छनौट भएर रु २ लाख ५० हजार बराबरको अनुदानमा थप पूर्वाधार निर्माण गरेका पौडेलले पछिल्लो समय सरकारले समेत पशुपालन क्षेत्रलाई प्राथमिकता दिन थालेकोमा खुसी व्यक्त गर्नुहुन्छ । ‘‘ पशुपालन सुखको व्यवसाय होइन, यसबाट भएको आम्दानी र खर्चमा भने म सन्तुष्ट नै छु, यसैलाई थप व्यवस्थित गर्दै लैजाने हो’’–पौडेलले भन्नुभयो ।

यसै वडाको एकपाटेका युवा विनोद बानियाँ पनि पशुपालनमै होमिनुभएको छ । पाँच बर्षअघि दुईवटा भैसीबाट दूध उत्पादनमा लागेका बानियाँले अहिले ७ वटा भैसी पाल्नुभएको छ । ‘‘ विदेश जाने भनेर लाखौँ पैसा दलालले खायो, त्यसपछि विदेश जाने मोह हरायो, आफ्नै ठाउँमा खालीहात बसेर पनि पुग्ने कुरा रहेन, त्यसपछि यहिँको माटोसंग खेल्ने निधो गरेर भैँसीपालनमा लागेको हुँ’’– बानियाँले भन्नुभयो । किसानको दूधको मुल्य नबढाउँदा भने लगानी र परिश्रम अनुसारको आम्दानी गर्न नसकिएको उहाँको दुखेसो छ ।


बानियाँ संगै उहाँका भाई मनोज बानियाँ पनि भैँसी र कुखुरापालनमै सक्रिय हुनुहुन्छ । बानियाँ दाजुभाइले पशुपन्छी पालन संगै तरकारी खेतीलाई समेत आम्दानीको स्रोत बनाउनुभएको छ । यी प्रतिनिधि युवाहरु हुन् । बेनी नगरपालिका–६ नम्बर वडामा दर्जनबढीले गाइभैँसी र कुखुरापालनबाट जिवनस्तर उकासेका छन् । बाँसबोटका जिवन प्रसाद पौडेल र रुद्र पौडेलले तीन बर्षदेखि युनियन कृषि तथा पशुपंक्षी फार्म सञ्चालन गर्नुभएको छ । पौडेल दाजुभाईको फार्ममा ८ भैसी, १ हजार ५ सय कुखुरा र २३ वटा बाख्रा रहेका छन् । एकपाटेका रामप्रसाद शर्मा र थाकनपोखरीका रमेश रेग्मीले समेत १०÷१० वटा बढी र गोविन्द पौडेलले ६ वटा भैसी पालन गर्नुभएको छ । कुरीलाखर्कमा सुरेश ढुंगाना भैँसी र कुखुरा तथा कृष्णप्रसाद आचार्य भैँसीपालनमा क्रियाशिल हुनुहुन्छ । एकपाटेका अमृत बानियाँ, गणेश शर्मा लगायत पनि कुखुरापालनबाटै आयआर्जन गर्न सफल हुनुभएको छ । दुग्ध उत्पादनको लागि गाईभैसी, मासु र अण्डाको लागि कुखुरा पालन गर्दै आएका अधिकाँश युवा छन् र आफ्नो पेशाबाट सन्तुष्ट पनि छन् ।


बेनी बजारमा खपत हुने ७५ प्रतिशत दूध बेनपा–६ बाटै पुर्ति हुने गरेको बेनी नगरस्तरीय एकता दुग्ध उत्पादक तथा गाईभँैसी स्रोत केन्द्र विकास समितीका अध्यक्ष समेत रहनुभएका कृषक जिवनप्रसाद पौडेलले बताउनुभयो । बेनी नगरक्षेत्रमा मात्रै करिब २ दर्जनबढी कृषकहरुले व्यवसायिक रुपमा दुध उत्पादन गर्ने गरि गाईभैँसी पालन गर्दै आएका छन् । समितिका अनुसार, सामान्य अबस्थामा बेनी बजारमा मात्रै दैनिक १५ सय लिटरको हाराहारीमा दुध खपत हुने गर्छ । अहिले कृषकहरुले बजारमा प्रतिलिटर ९० रुपैयाँमा दुध विक्रि गर्दै आएका छन् । बेनी नगरपालिकासंगै जिल्लाको रघुगंगा, मंगला र मालिका गाउँपालिकामा समेत व्यवसायिक रुपमा गाईभैँसी पालनको लहर सुरु भएको छ ।
                          दुईदशकदेखि पशुपालनमा
बेनी नगरपालिका–६ बाँसबोटका कृषक दुर्गाप्रसाद पौडेल दुई दशकदेखि पशुपालनमा आबद्ध हुनुहुन्छ । सुरुवातमा दैनिक ५ लिटर दुधलाई सदरमुकाम बेनीमा ल्याएर विक्रि गर्ने पौडेल अहिले भने जिल्लाकै नमुना भँैसीपालक कृषकको रुपमा परिचित हुनुहुन्छ । २०५६ देखि पशुपालन सुरु गर्नुभएका पौडेलले स्थापना गर्नुभएको बरदान पशुपन्छी फार्ममा अहिले १८ वटा दुहुना उन्नत जातका भैँसी रहेका छन् ।

पौडेल भैँसीपालनबाट पनि रहरलाग्दो आम्दानी गर्न सकिन्छ भन्ने उहाहरणको रुपमा चिनिनुहुन्छ । दैनिक १५० लिटरको हाराहारीमा दूधलाई बेनीमा विक्रि गर्दै आउनुभएका पौडेलले मासिक ४ लाख ५० हजार आम्दानी हुने बताउनुभयो । ‘‘ सबै काम गर्न हामी परिवारले मात्रै सम्भव छैन, तीन जनालाई फार्ममा प्रत्येक्ष रोजगारि दिएका छौँ, भैसीको दाना र घाँस, तलब लगायतमा आम्दानीको ठुलो हिस्सा खर्च हुन्छ, बचत भएको रकमलाई फार्मकै क्षमता विस्तार र पूर्वाधार निर्माणमा खर्चिने गरेको छु’’– पौडेलले भन्नुभयो । पौडेलले यस फार्ममा अहिलेसम्म करिब ६० लाख लगानी भैसकेको बताउनुभयो ।
                   विदेशबाट फर्किएर बाख्रापालन
बेनपा–६ चुत्रेनीका ३० वर्षीय युवा कृष्ण मल्लले व्यावसायिक बाख्रापालनबाट रहरलाग्दो आम्दानी गर्न थाल्नुभएको छ । वैदेशिक रोजगारिको सिलसिलामा चार बर्ष इराकमा बसेर फर्कनुभएका मल्लले उन्नत जातको बाख्रापालन सुरु गर्नुभएको थियो । ‘‘ विदेशबाट फर्कदा अष्ट्रेलिया जाने योजना थियो, यहाँ आएपछि मेरो सोच बदलियो, लाखौँ तिरेर फेरी विदेश पस्नु भन्दा यहिँ नै मेहनत किन नगर्ने ? भन्ने लागेर यता लागेको हुँ’’–उहाँले भन्नुभयो ।

बोयर र क्रस जातको बाख्रा पालनमा लागेको मल्लले एक बर्षको अवधिमा १० लाख बराबरको बाख्रा विक्रि गरिसकेको बताउनुभयो । मल्लको फार्ममा २५ वटा बोयर र क्रस बाख्रा रहेका छन् । कृष्ण बहुउद्देश्य कृषी तथा पशुपालन फार्म सञ्चालन गर्नुभएका मल्लले भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र मार्फत मोडल मार्फमा छनौट भएपछि साढे दुई लाख अनुदान लिएर खोरको क्षमता विस्तार गर्नुभएको छ । फार्ममा ५० वटा बाख्रा पालन गर्ने क्षमता रहेको छ ।
              वडाभित्र पशुपालन र कृषितर्फ आकर्षण बढ्यो
बेनी नगरपालिका–६ का बस्तीहरुमा व्यावसायिक पशुपन्छी पालन र तरकारी खेतीतर्फ युवाहरुको आकर्षण बढेको छ । बजारीकरणका लागि सदरमुकाम बेनी बजार नजिकै रहेकाले यहाँका युवाहरु यसतर्फ आकर्षित भएका हुन् । वडामा कुखुरा, गाईभैसी, बाख्रा पालनसंगै तरकारी खेतीतर्फ समेत आकर्षण बढेको र यसको दायरालाई थप फराकिलो बनाउनतर्फ जोड दिईएको वडा अध्यक्ष कृष्णसिंह बानियाँले बताउनुभयो ।

उहाँका अनुसार, यस वडाभित्र दुई दर्जन बढी फार्महरु मोडल फार्मको रुपमा विकास भैसकेका छन् । ‘‘उत्साहि युवाहरुले गरेका प्रयासहरु सफल हुँदै गएका छन्, उनीहरुलाई तालिम, अनुदानमा सहजीकरण गर्ने काममा हामीले पुलको काम गरेका छौँ, नगरस्तरबाट उपलब्ध हुने सुविधाहरुमा पनि हातेमालो गरिरहेका छौँ’’–वडा अध्यक्ष बानियाँले भन्नुभयो । उहाँले वडा कार्यालयले गाउँबस्तीहरुलाई कृषिमा समेत आत्मनिर्भर गराउनको लागि हरेक घरमा टनेल राख्ने अभियानलाई समेत अघि बढाएको बताउनुभयो ।
                  पशुपन्छी पालनलाई प्रोत्साहन
पशुपन्छी पालन गर्ने कृषकहरुलाई पछिल्लो समय व्यावसाय विस्तारमा अनुदान उपलब्ध हुन थालेको छ । स्थानीय सरकार संगै भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र म्याग्दीले समेत कृषकहरुलाई अनुदान उपलब्ध गराउन थालेको हो । गत आर्थिक बर्ष २०७६÷०७७ मा कार्यालयले ठुलो संख्यामा कृषकहरुलाई अनुदान बाँडेको हो । कार्यालयले म्याग्दीका ३९ र मुस्ताङका तीन वटा फार्मलाई मोडल फार्मको रुपमा छनौट गरि पूर्वाधार निर्माणमा प्रत्येकलाई रु २ लाख ५० हजारका दरले अनुदान वितरण गरेको जनाएको छ । कार्यालयले गाईभैसी, कुखुरा, बाख्रा संगै भेडापालन, दुग्ध पसल सुधार, मासु पसल सुधार, नष्ल सुधारका कार्यक्रममा समेत कृषकहरुलाई अनुदान दिँदै आएको छ ।
समृद्ध साप्ताहिकमा प्रकाशित

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l