पत्रकारिता सँगै कृषि र मौरीपालन व्यवसाय

  • ७ आश्विन २०७७, बुधबार
  • 917 पटक पढिएको

थम्मन थापा

बागलुङ ७ असाेज । कोरोनाले अहिले विश्व नै संकटमा छ । गलकोट बाट पहिले रोजगारीको सिलसिलामा विदेश जाने नागरिकको लर्को थियो । अहिले यो क्रम घटेको छ । कोभिड १९ को माहामारीको कारण विदेशमा पनि अहिले उद्योग व्यवसाय होटल रेस्टुरेन्ट अहिले धरासायी बनिरहेका छन । धेरै युवाहरुले रोजगार गुमाएका कैयौं खबरहरु सार्वजनिक भइरहेका छन् । अहिले नेपालमा पनि कृषि र पशुपालन क्षेत्रमा धेरै सम्भावनाका ढोकाहरू खुलेका छन् ।

नेपाल सरकारले कृषि र पशुपालनमा अनुदान समेत प्रदान गर्दै आइरहेको छ । पछिल्लो समय कृषि र पशुपालनमा युवाहरुको आकर्षण समेत वृद्धि हुँदै गइरहेको छ । लामो समय शिक्षण पेशामा आवद्ध भएर विदाई भएपछि अहिले स्थानीय स्तरमा पत्रकारिता सँगै कृषि क्षेत्रमा सम्वृद्धिको सम्भावना खोज्ने युवा हुन गलकोट नगरपालिका वडा नं ९ छिसका मित्रलाल खरेल ।

खरेलले गलकोट कृषि तथा पशुपलन बिक्री केन्द्र नामक फर्म स्थापना गरेर अहिले कृषि र मौरी पालन व्यवसाय सुरुवात गरेका छन् । स्थानीय यम भुजेल र खरेलले छिसमा अहिले झण्डै १ सय बढी मौरीको घारमा मौरी पालन गरेर आर्थिक सम्वृद्धिको बाटो रोजेका छन् । परम्परागत कृषि प्रणाली मार्फत आर्थिक सम्वृद्धि नहुने र मात्रै जीविकोपार्जन हुने भन्दै आफूहरु आधुनिक कृषि प्रणाली र मौरी पालनमा लागेको उनले बताए । थोरै लगानी, कम मेहनत हुने भएकाले आफूहरुले मौरी पालन व्यवसाय रोजेको खरेलको भनाइ छ ।

खरेलले मौरीपालन सँगै कागती खेती, तरुल खेती र तरकारी खेतीलाई सँग सँगै एकसाथ अगाडि बढाएको उल्लेख गरे । घर वरिपरि रहेको खेतमा धान नरोपी सबै खेतमा कोदो रोपेर त्यसको संरक्षणमा समेत उनी सक्रिय छन् । एउटा व्यवसायिक कृषकको रूपमा आफूलाई चिनाएका खरेलले अहिले बारीमा ५ सय कागतीका विरुवा रोपेका छन् । उनको कागती बगैचामा धेरै जसो बोटहरूले फल लगाई सकेका छन । यति मात्र होइन जमीन खेर नजाओस भन्ने हेतुले सयौं तरुलका झाल, विभिन्न प्रजातिका केरा, सुन्तला आदिले त्यहॉ पुग्ने जो कसैलाई त्यसले लोभाउने गर्दछ ।

मध्य पहाडी लोकमार्ग अन्तर्गत गलकोट नगरपालिका वडा नं ९ बडगाउँ बाट करिब १० मिनेटको गाडी यात्रा र ३० मिनेटको पैदल यात्रा पछि त्यहाँ पुग्न सकिन्छ । उनको बगैंचा र मौरीपालन मल्म रिघा सिसाखानी सडकको अाडमै पर्दछ । सहपाठी यम भुजेल लामो समय बडिगाड गाउँपालिका वडा नं ३ सिसाखानी र गलकोट नगरपालिका वडा नं १० पाण्डवखानीमा मौरीपालन व्यवसाय गर्दै आउनु भएको थियो । बजारको समस्याले अलि समस्या भएपनि अब भने सहज हुने भुजेलले बताए । अहिले स्थानीय लघु जलविद्युत मार्फत मौरीको घार निर्माण समेत गरेर बिक्री वितरण गर्ने तयारी भइरहेको समेत उनले जानकारी दिए ।

भौगोलिक हिसाबले पनि उक्त ठाउँ आकर्षक देखिन्छ त्यहाँबाट मध्यपहाडी लोकमार्ग, दरम खोला, रिघा, कॉडेबास, मल्म सँगै छिमेकी जिल्ला गुल्मीको अर्लाङ्गकोटका दृश्य अवलोकन गर्न सकिन्छ । छिमेकी वडा रिघा पर्यटकीय र धार्मिक अनि सांस्कृतिक महत्त्व बोकेको ठाउँ भएकोले यस क्षेत्रमा रिसोर्ट आवश्यकता रहेको र निकट भविष्यमा रिसोर्ट निर्माण गर्ने योजना समेत बनाएको खरेलले बताए । लगानी गर्ने युवाहरु भए आफूले त्यहाँको व्यवस्थापकीय पक्षका लागि वातावरण निर्माण गर्न आफू तयार रहेको उनले बताए ।

मौरी पालन व्यवसायले अब बिस्तारै आम्दानीको श्रोत वृद्धि गर्दै लैजाने उनले अपेक्षा गरेका छन् । उनीहरूको मौरीपालन र कृषि बगैचामा अहिले युवाहरु स्थलगत अवलोकन गर्न आउने गरेका छन् । खरेल गलकोट क्षेत्रमा रहेर १ दशक देखि पत्रकारितामा समेत आवद्ध रहेका छन् । उनी पत्रकारहरुको साझा संस्था गलकोट पत्रकार सामाज बागलुङका अध्यक्ष समेत रहेका छन् ।