हरियालीको कालिज फार्ममा पसेको चितुवालाई जिवित उद्धार

  • २७ भाद्र २०७७, शनिबार
  • 861 पटक पढिएको

बेनी २७ भदौ । म्याग्दीको बेनी नगरपालिका–४ सिंगा स्थित हरियाली ग्रुपले सञ्चालन गरेको कालिज फार्मभित्र पसेको चितुवालाई नियन्त्रणमा लिइएको छ। राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता केन्द्र चितवनबाट आएका प्राविधिक टोलीले शुक्रवारराति ११ बजे चितुवालाई जीवितै नियन्त्रणमा लिएको हो। डार्टगनको सहायताले लठ्याउने सुइ लगाएर चितुवालाई नियन्त्रणमा लिइएको डिभिजन वन कार्यालय म्याग्दीका प्रमुख सन्तोष खनालले जानकारी दिनुभयो।

ठूलो क्षेत्रफलमा फैलिएको फार्मभित्र खुल्ला ठाउँ भएकाले नियन्त्रणमा लिन प्राविधिक टोली बोलाइएको थियो। चितुवा नियन्त्रणका लागि जैविक विविधता संरक्षण केन्द्रका पशु चिकित्सक अमिर सडौला, भेटेनरी प्राविधिक किरणराज रिजाल, वन्यजन्तु प्राविधिक दिप्रसाद चौधरी र जुनियर वन्यजन्तु प्राविधिक सुरेन्द्र चौधरीको टोली चितवनबाट आएको थियो।


डिभिजन वन कार्यालयका प्रमुख खनालसहितका प्राविधिक, भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख नारायण कुशुम, सिंगा तातोपानी प्रहरी चौकीको टोली, फार्मका कर्मचारी र स्थानीयवासीले चितुवा नियन्त्रणमा लिन सघाएका थिए।

दुई देखि तीन वर्षको उक्त पोथी चितुवा १८४ सेन्टिमिटर लम्बाई, ५२ सेन्टिमिटर उचाई र ३५ केजी तौल भएको उद्धार टोलीले जनाएको छ। चितुवा पसेको फार्मभित्र ६५ दिनका ४५० वटा कालिजका चल्ला थिए। चितुवाले पु¥याएको क्षतिको विवरण संकलन भैरहेको प्रा.लिका महाप्रबन्धक शेरबहादुर केसीले जानकारी दिनुभयो । वरीपरिे तारजालीले घेराबार गरिएको कालिज फार्ममाथि पलास्टिकको नेट राखिएको छ। खेतबाट नेटमा हामफाल्दा नेट च्यातिएर फार्मभित्र पसेको चितुवा शुक्रवार दिनभर बाहिर निस्कन सकेको थिएन्।