देशभर कुल संक्रमित ५० हजार नाघे

  • २५ भाद्र २०७७, बिहीबार
  • 1079 पटक पढिएको

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १२ सय ४६ जना कोरोना संक्रमित थपिएका छन् । बिहीबारको नियमित प्रेस ब्रिफिङमा  मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका छन् । यो सँगै नेपालमा कुल संक्रमितकोसंख्या ५० हजार नाघेको छ । गौतमका अनुसार आजसम्म कोरोना संक्रमितको कुल संख्या ५० हजार ४६५ पुगेको छ।

नेपालमा पहिलो पटक ०७६ माघ १० गते कोरोना संक्रमण पुष्टि भएको थियो । चीनको उहानबाट आएका ३२ वर्षीय पुरुषमा  पहिलो पटक कोरोना पोजिटिभ देखिएको थियो। यसो त कोरोनाको उद्गमथलो समेत उहान नै हो । त्यससता नेपालमा कोरोना नियन्त्रणका लागि लकडाउन, निषेधाज्ञा जारी गर्ने जस्ता कदम चालिएपनि कोरोना न्यूनीकरण भने हुन सकेको छैन । बरु पछिल्लो समय संक्रमण थप तीव्र गतिमा फैलिएको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ४४८ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ८ हजार १० रहेका छन् भने होम आइसोलेशनमा ६ हजार ४३८ जना रहेका छन्  ।

यस्तै हालसम्म ७१ प्रतिशत संक्रमित निको भएका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १ हजार ८१८ जना कोरोना संक्रमणमुक्त भएसँगै निको हुनेको कुल संख्या ३५ हजार ७०० पुगेको छ । यस्तै आज ११ हजार १४४ जनाको पीसीआर परीक्षण भएको छ।

यसैबीच कोरोनाबाट थप ५ जनाको मृत्यु भएको छ। यससँगै कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ३१७ पुगेको छ।

www. ratopati.com