लायन्स क्लव अन्तराष्ट्रियद्धारा ८० घरधुरी बाढीपहिरो पीडितलाई राहत सहयोग

  • २४ भाद्र २०७७, बुधबार
  • 1149 पटक पढिएको

म्याग्दी २४ भदौ । मानवीय सेवाको क्षेत्रमा सक्रिय लायन्स क्लब अन्तराष्ट्रिय ३२५ बि १ नेपालले म्याग्दीका ८० घरधुरी बाढीपहिरो पीडितलाई रु ४ लाख बराबरको राहत साम्रागी सहयोग गरेको छ । क्लबले बेनी नगरपालिकाका २९ परिवार, मालिका र धवलागिरी गाउँपालिकामा २६, अन्नपूर्णमा १५, मंगलामा ६ र छिमेकी जिल्ला पर्वत बेनीका ४ घरपरिवारलाई स्थानीय तहमार्फत राहत सहयोग गरेको हो ।


बाढी, पहिरोबाट पीडित भएकाहरुलाई लायन्स क्लब अन्र्तराष्ट्रियबाट उपलब्ध भएको राहत सहयोग स्थानीय तह मार्फत उपलब्ध गराउन सुरु गरिएको क्लबका सचिबालय सल्लाहकार सन्तोष रावलले जानकारी दिनुभयो । बुधवार बेनीमा आयोजित एक कार्यक्रममा बेनी नगरपालिकाभित्रका बाढी, पहिरो पीडितहरुको लागि राहत हस्तान्तरण गरिएको छ । बेनीमा क्रियाशिल रहेका लायन्स क्लबहरुको संयोजनमा प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी मार्फत बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुबेदीलाई सहयोग साम्रागी हस्तान्तरण गरिएको थियो । सो अवसरमा नगरक्षेत्रका २९ बाढी पहिरो पीडितहरुको लागि राहत उपलब्ध गराईएको थियो ।


सहयोग हस्तान्तरण गर्दै प्रजिअ अधिकारीले बास्तविक पीडितहरुको पहिचान गरि राहत वितरणलाई प्रभाबकारी बनाउन प्रशासनले आबश्यक पहल लिएको बताउँदै आबश्यकतामा आधारित राहत सहयोगलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । लायन्स मार्फत हरेक परिवारलाई १ थान त्रिपाल, १ ब्लाङ्केट, म्याटेस, एक बोरा चामल, १ केजी दाल, १ केजी चिनी, नुनतेल लगायतका सामाग्री उपलब्ध गराईएको रहेको लायन्सका रिजन लोकेश पुनमगरले जानकारी दिनुभयो । मंगला, मालिका, धवलागिरी र अन्नपूर्ण गाउँपालिकामा स्थानीय स्तरमा रहेका लायन्सका क्लबहरु मार्फत नै राहत वितरण गरिने जनाईएको छ । कार्यक्रममा कलष्टर प्रमुख सुनिता केसी, जोन चियर पर्सन लायन ठाकुर प्रसाद शर्मा लगायत बेनीमा रहेका क्लबका प्रमुख तथा प्रतिनिधिहरुको समेत सहभागीता रहेको थियो ।