युवालाई कृषि र पशुपालनमा प्रोत्साहन गर्ने कार्यक्रम प्राथमिकतामा

  • २२ भाद्र २०७७, सोमबार
  • 1720 पटक पढिएको

म्याग्दी २२ भदौ । कोरोनाले रोजगारि गुमाएका युवाहरुलाई कृषि र पशुपालनमा आकर्षित गरि स्वरोजगार बनाउन म्याग्दीको रघुगंगा गाउँपालिकाले कृषि र पशुपालन क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको छ । कृषिजन्य र पशुजन्य उत्पादनमा आत्मनिर्भर बन्नका लागि युवाहरुलाई आकर्षित गर्न परम्परागत कृषि प्रणालिलाई आधुनिकीकरण गर्ने, जोखिम घटाउनका लागि सहयोग गर्ने कार्यक्रमलाई अघि सारिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अमृत सुवेदीले जानकारी दिए ।

उनका अनुसार, चालु आर्थिक बर्ष ०७७/७८ को लागि गाउँपालिकाले कृषि विमा कार्यक्रम गर्ने तयारी गरेको छ । गाउँपालिकाभित्र उत्पादन हुने धान, गहुँ, आलु लगायतका प्रमुख बालिहरुमा असिना, बाढी, पहिरो लगायतको प्राकृतिक प्रकोपबाट क्षति भएको अबस्थामा राहत दिने गरि कृषि विमा कार्यक्रमलाई लागु गर्ने तयारी गरिएको छ । कृषि विमामा रु १५ लाख बजेट विनियोजन गरेको गाउँपालिकाले कृषक समुह दर्ता सम्बन्धि कार्यविधि पारित गरिसकेको छ ।

सहकारी मार्फत उत्पादनशिल क्षेत्रमा जोडिनेहरुको लागि रु ६ लाख बजेट विनियोजन गरेको रघुगंगामा प्रधानमन्त्री कृषि आधुनीकिकरण परियोजनाको लागि रु ३८ लाख बजेट प्राप्त भएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले चालु आ.ब.मा कृषि यान्त्रिकरणको लागि रु २५ लाख बजेट विनियोजन गरेको छ । यस मार्फत परम्परागत कृषिलाई आधुनिकीकरण गर्नको लागि औजार, उपकरण अनुदानमा वितरण गर्ने योजना बनाईएको गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीले जानकारी दिए ।

यस बर्ष गाउँपालिकाले कृषकहरुलाई सुन्तला, कागती, किबी, ओखर र एभोगाडोका विरुवा वितरणको लागि रु २० लाख बजेट विनियोजन गरेको छ । बस्ती र स्थान अनुसार उपयुक्त खेतिलाई प्रवद्र्धन गर्नको लागि कुन स्थानमा कुन खेतिको सम्भावना छ भन्ने कुराको पहिचान गर्नको लागि विभिन्न २ सय स्थानको माटो परिक्षण गरिने भएको छ । माटो परिक्षणको लागि गाउँपालिकाले रु २ लाख बजेट विनियोजन गरेको छ ।

गाउँपालिकाले कृषि संगै पशुपालनलाई समेत प्रवद्र्धन गर्ने योजना अघि सारेको छ । कोरोनाको कारण रोजगार गुमाएर विदेशबाट फर्किएका युवाहरुलाई पशुपालनमा जोड्नका लागि गाउँपालिकाले रु ६ लाख बजेट विनियोजन गरेको छ । कोरोना कहरले विदेशबाट फर्किएका युवाहरुलाई स्वदेशमै आत्मनिर्भरता तर्फ लाग्नको लागि सो बजेटबाट प्रोत्साहन गरिने प्रमुख प्रशासकिय अधिकृत सुवेदीले बताए ।

रघुगंगामा यस बर्ष पशु नष्ल सुधारमा रु १० लाख, औषधी खरिदमा रु ७ लाख, भेडापालन प्रवद्र्धनको लागि रु १६ लाख, पशु खोपको लागि रु २ लाख, नमुना गोठ निर्माणको लागि रु १६ लाख बजेट विनियोजन गरिएको छ ।