अन्नपूर्णमा अबैध बालुवा प्रकरण : ‘बालुवा गाउँपालिकाले जफत गर्ने, जरिवाना कार्यपालिका बैठकबाट हुने

  • २० भाद्र २०७७, शनिबार
  • 1115 पटक पढिएको

म्याग्दी २० भदौ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ र वडा नम्बर १ महभिर भिरकाटे क्षेत्रमा अबैध उत्खनन र भण्डारण गरिएको नदिजन्य पदार्थ (बालुवा) लाई गाउँपालिकाले जफत गर्ने भएको छ । शनिवार गाउँपालिका अध्यक्ष क्याप्टेन डमबहादुर पुनको अध्यक्षतामा बसेको सरोकारवालाहरुको बैठकले संकलन गरि विभिन्न स्थानमा भण्डारण गरि राखेको बालुवालाई जफल गर्ने निर्णय गरेको हो । अबैध रुपमा विभिन्न स्थानमा राखिएको करिब ४८० घनमिटर बालुवालाई गाउँपालिकाले जफत गरि बढीबढाउमा बिक्री गर्ने निर्णय भएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नविन सुवेदीले जानकारी दिए ।


बालुवा संकलन र भण्डारणको कार्यमा संलग्न रहेका स्थानीय युवा सागर बरुवाल र शर्मा युनाईटेड बिल्डर्सका सुपरभाइजर रमेश सुवेदीले गल्ती महसुस गरेको र उनीहरुलाई आबश्यक जरिवानाको लागि गाउँकार्यपालिकालाई सिफारिस गर्ने बैठकले निर्णय गरेको छ । जफत भएको बालुवाको बढीबढाउ गर्दा बरुवाल र सुवेदीले भाग नलिने सहमती भए बमोजिम अन्य सबैलाई सहभागीताको लागि समान अवसर प्रदान गर्न कार्यपालिकालाई सिफारिस गर्ने निर्णय समेत भएको बुझिएको छ ।

बैठकमा गाउँपालिकाका जनप्रतिनिधि, राजनीतिक दल र घारका स्थानीय सरोकारवालाहरुको समेत सहभागिता रहेको थियो । आईतवार गाउँपालिकामा बस्ने कार्यपालिका बैठकले जरिवाना सहितको कारबाहिको निर्णय गर्नेछ । महभिर क्षेत्रमा अबैध रुपमा नदिजन्य पदार्थको उत्खनन र निकासी भएपछि घारका स्थानीय युवाहरुले गाउँपालिकालाई ध्यानकर्षण गराउँदै लिखित उजुरी समेत गरेका थिए । सोही उजुरीको आधारमा गाउँपालिकाले स्थलगत अवलोकन देखि संलग्न व्यक्तिहरुको पहिचानको लागि छानविन अघि बढाएको थियो ।

स्थानीय तहले ठेक्का लगाएपछि मात्र नदीजन्य वस्तुको उत्खनन् गरी बिक्री वितरण गर्न पाइने नीतिगत व्यवस्था गरेको छ । प्रदेश सरकारले असार १५ गतेदेखि तीन महिनासम्म बगर उत्खनन्मा रोक लगाएको छ । नीतिगत व्यवस्थाअनुसार बगर उत्खनन्मा एक्साभेटर (डोजर)को प्रयोग गर्नसमेत पाइँदैन । यहाँ अबैधरुपमा नदीजन्य पदार्थको उत्खनन् र चोरी निकासी हुँदा गाउँपालिकालाई आम्दानीको स्रोत गुमेको छ ।

अबैधरुपमा उत्खनन् र ढुवानीमा संलग्न ब्यक्तिलाई पक्राउ तथा साधनलाई नियन्त्रणमा लिने, जरिवाना तिराउने र उत्खनन् भएका नदीजन्य बस्तु जफत गरी बढीबढाउमा बिक्री गर्ने कानुनी व्यवस्था छ । अन्नपूर्ण गाउँपालिकाले बगर ठेक्का लगाउनका लागि प्रारम्भिक वातावरणीय प्रभाव मूल्याङ्कनको क्रममा छ । इआइए रिपोर्ट जिल्ला समन्वय समितिले पारित गरेपछि ठेक्का आव्हान गर्ने र प्रतिस्पर्धामा ठेक्का लगाएर उत्खनन् तथा निकासी गर्न लगाउने गाउँपालिकाको योजना छ । गत वर्ष तीन पटक सूचना प्रकाशन गर्दासमेत अन्नपूर्ण गाउँपालिकाका बगर उत्खननका लागि कसैले पनि ठेक्का हालेका थिएनन् ।