अन्नपूर्णमा गाउँपालिकाकै नजिक ‘भिरकाटे महभिरमा कालिगण्डकीको अबैध’ दोहन

  • १७ भाद्र २०७७, बुधबार
  • 1948 पटक पढिएको

म्याग्दी १७ भदौ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित भिरकाटे महभिर खण्डको कालिगण्डकी नदीमा बालुवाको अबैध दोहन भएको छ । गाउँपालिकाको केन्द्र नजीकैको क्षेत्रमा लुकिछिपी मेसिन लगाएर बालुवा झिक्ने काम भएको हो । गाउँपालिकाले वालुवा उत्खनन्को लागि इआइए गरि ठेक्का लगाउने तयारी गरिरहेको अबस्थामा अबैध रुपमा ठुलो परिमाणमा बालुका उत्खनन भएको पाईएको छ ।

एक साता अघिदेखि निरन्तर रुपमा बालुवाको अबैध दोहन भैरहेको भएपनि कतैबाट रोक्ने काम नभएपछि बुधवार घारका युवाहरुको अगुवाईमा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका कर्मचारी र सदस्यहरु तथा केहि जनप्रतिनिधिको टोलीले स्थलगत अवलोकन गरि गाउँपालिकामा लिखित ध्यानकर्षण गराएको स्थानीय युवा विमल बरुवालले बताए ।


‘‘ स्थानीयबासीले उत्खनन गर्नेको पहिचान गाउँपालिकालाई गराइसकेका छन्, तर अहिलेसम्म छानविन गर्ने र उक्त कार्य रोक्नतर्फ चासो गएको देखिएन्, हामीहरुले लिखित रुपमै गाउँपालिकालाई ध्यानकर्षण गराईसका छौँ’’–उनले भने । लाखौँको बालुवा खोलाबाट झिकेर सडकखण्डको विभिन्न स्थानमा पु¥याएर लुकाउने काम भैरहेको भेटिएको उनले बताए ।


अबैध रुपमा दोहन गर्नेको पहिचानको लागि गाउँपालिकाले स्थलगत रुपमा अनुगमन थालेको प्रमुख प्रशासकिय अधिकृत नविन सुवेदीले जानकारी दिए । ठेक्का नै नलगाएको अबस्थामा अबैध रुपमा दोहन गरेको भेटिएको र दोहन गर्नेको पहिचानको लागि छानविन गरिरहेको उनको भनाई छ । दोहन गर्नेलाई पहिचान गरि आबश्यक कारबाहि गरिने गाउँपालिकाले जनाएको छ ।बुधवार साँझ नै गाउँपालिका अध्यक्ष क्याप्टेन डमबहादुर पुन र प्रमुख प्रशासकिय अधिकृत सुवेदी लगायतको टोलीले स्थानीयको जनगुनासो र युवाहरूकाे लिखित निवेदन पछि अबैध दोहन भएको कालिगण्डकी नदीको किनारतर्फ स्थलगत अवलोकनमा पुगेका थिए ।