उत्तरी म्याग्दीका बाढीपहिरो पीडितलाई म्याग्दी समाज न्यूर्योकले साढे २ लाखभन्दा बढी सहयोग

  • १७ भाद्र २०७७, बुधबार
  • 1031 पटक पढिएको

म्याग्दी १७ भदौ । उत्तरी म्याग्दीका बाढीपहिरो पीडितलाई म्याग्दी समाज न्यूर्योक अमेरिकाले २ लाख ५० हजारभन्दा बढी आर्थिक सहयोग गरेको छ । अन्नपूर्ण गाउँपालिका–३ दानाको फगाममा आयोजित कार्यक्रममा बाढी पहिरोका कारण दानाको फगाम, काभ्रे, नारच्याङ लगायत गाउँपालिका भित्रका १९ घरधुरीलाई २ लाख २५ हजार, बाढीमा बेपत्ता र मृतक दुईजना लाई २० हजार र एक घाईतेलाई १० हजार हस्तान्तरण गरिएको हो।

बाढीपहिरोले क्षतविक्षत भएका गाउँवस्तीका बासिन्दालाई लक्षित गरीे संकलन गरेको आर्थिक गाउँपालिका अध्यक्ष डमबहादुर पुनमार्फत पीडितलाई हस्तान्तरण गर्नुभएको थियो । हस्तान्तरण कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष पुनले कोरोनाको जोखिमको बाबजुत जन्मभूमिका बाढीपहिरोले विस्थापित भएकालाई आर्थिक सहयोग जुटाएर अमेरिकामा रहेका म्याग्देलीले पीडितको मन जित्न सफल भएको बताउनुभयो ।

‘पीडितको हातमै पुगेको सहयोगको सदुपयोग गर्नुहोला,‘भविस्यमा पनि समाजसँग मिलेर अन्नपूर्णभित्र विभिन्न काम गर्नेछौ’ अध्यक्ष पुनले भन्नुभयो। सहयोग हस्तान्तरण कार्यक्रममा दानाका वडा अध्यक्ष नरसिंह बहादुर पूर्जा, नारच्याङका वडा अध्यक्ष चन्द्रप्रसाद फगामी, दानाका समाजसेवी बेलबहादुर पूर्जा, जिसस सदस्य मेखबहादुर गर्बुजा, दानका वडा सदस्य, स्थानीय अगुवाहरूको उपस्थिती रहेको थियो। पहिरोले तल्लो फगाम गाउँ नै विस्थापित भएको अवस्थामा गाउँपालिकाले उपलब्ध गराएको विवरण अनुसार क्षती पुगेको घरलाई प्रति घरधुरी १० हजार सहयोग गरिएको समाजले जनाएको छ।

सहयोग हस्तान्तरण कार्यक्रमको सञ्चालन पत्रकार हरिकृष्ण गौतम, ब्यवस्थापनमा रेशमबहादुर पुनले सघाउनु भएको थियो। समाजले बाढीपहिरो पीडितको राहतका लागि उपाध्यक्ष रमेश तुलाचनको संयोजक र मन प्रसाद रोका सहसंयोजक रहेको राहत संकलन समिति समेत गठन गरिएको थियो। समाजले पश्चिम म्याग्दीको मंगला, मालिका, धवलागिरीका बाढीपहिरो पीडित, मृतक घाईते र सुत्केरीलाई वितरण गरिएको छ भने रघुगंगा गाउँपालिका ३ जना मृतकलाई सहयोग हस्तान्तरण गर्न बाँकी रहेको छ ।