प्रदेश सरकारबाट जिल्ला प्रशासन कार्यालयलाई प्राप्त २० लाख कहाँ–कहाँ भयो खर्च ? (भिडियाे सहित)

  • १५ भाद्र २०७७, सोमबार
  • 1451 पटक पढिएको

म्याग्दी १५ भदौ । कोरोना रोकथाम र नियन्त्रणको लागि सुरक्षा निकायहरु मार्फच खर्च गर्ने गरि गण्डकी प्रदेश सरकारले जिल्ला प्रशासन कार्यालयलाई उपलब्ध गराएको रु २० लाख बजेटको खर्च विवरण सार्वजनिक भएको छ । गण्डकी प्रदेश सरकार मार्फत दुई किस्तामा गरि प्राप्त भएको रु २० लाख बजेटमध्ये १९ लाख ४७ हजार बढी खर्च गरेको विवरण सार्वजनिक भएको हो ।

सोमबार जिल्ला प्रशासन कार्यालय म्याग्दीले पत्रकार सम्मेलन गरि गत चैतदेखि असार मसान्त सम्म भएका खर्च विवरण सार्वजनिक गरेको हो । प्रशासन कार्यालयका सूचना अधिकारी एवम् सहायक प्रमुख जिल्ला अधिकारी महेश सुवेदीले प्रदेश सरकार मार्फत प्राप्त बजेटलाई सञ्चार, इन्धन, अनुगमन लगायतको क्षेत्रमा खर्च भएको जानकारी दिनुभयो ।

 

 

उहाँका अनुसार, जिल्ला प्रशासन, जिल्ला प्रहरी, श्रीबक्स गुल्म, राष्ट्रिय अनुसंधान र सशस्त्र प्रहरी गरि ५ वटा सुरक्षा अंगहरुमा सो बजेट खर्च भएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट जिल्ला प्रशासन कार्यालय एवम् सम्पूर्ण सुरक्षा संयन्त्रको परिचालन तथा व्यवस्थापनको सामुहिक प्रयासबाट कोरोना संक्रमणको जोखिम न्युनिकरण गर्ने प्रयोजनको लागि गत चैत २५ गते १५ लाख र जेठ ३० गते ५ लाख गरि २० लाख बजेट प्राप्त भएको थियो ।

 

प्रदेश सरकारबाट सञ्चार महसुल १ लाख , इन्धन कार्यालय प्रयोजन ७ लाख, सवारी साधन मर्मत ३ लाख ५० हजार, कार्यालय सञ्चालन खर्च १ लाख, अनुगमन तथा मुल्यांकन खर्च ६ लाख र विविध खर्च १ लाख ५० हजार गरि शिर्षकगत बजेट प्राप्त भएकोमा जिल्लामा रहेका ५ वटा सुरक्षा निकायहरुबाट सो खर्च भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।  कुल खर्चमध्ये आधा भन्दा बढी जिल्ला प्रशासन कार्यालयबाट भएको छ । सञ्चार महसुल, इन्धन, सवारी साधन मर्मत, अनुगमनका कार्यमा जिल्ला प्रशासन कार्यालयले मात्रै ११ लाख बढी खर्च गरेको हो ।

चार महिनाको अबधीमा भएको यो खर्चलाई अस्वभाविक मानिएको छ । पत्रकार सम्मेलनमा कुल खर्च मध्ये जिल्ला प्रशासन कार्यालयले ११ लाख ८५ हजार ७०७ रुपैयाँ, जिल्ला प्रहरी कार्यालयले ३ लाख ९४ हजार ६ सय ५९, श्रीबक्स गुल्मले १ लाख ४२ हजार ३१, सशस्त्र प्रहरी गुल्मले १ लाख २९ हजार २ सय ६२ र राष्ट्रिय अनुसंधान जिल्ला कार्यालय मार्फत ५८ हजार ७ सय ४७ र अन्य कार्यालयको सवारी साधन इन्धन तथा अनुगमानमा समेत गरि ३७ हजार १९५ खर्च भएको पत्रकार सम्मेलनमा जानकारी गराईएको छ । प्रदेश सरकारबाट प्राप्त २० लाख मध्ये कुल १९ लाख ४७ हजार ६ सय १ खर्च भएर ५२ हजार ३ सय ९९ खर्च नभएको जनाईएको छ ।

प्रशासनका अनुसार, कोरोना रोकथाम र नियन्त्रणको लागि क्वारेनटाइनको खर्च स्थानीय तहले, आइसोलेसनको व्यवस्थापन बेनी अस्पतालले, किट व्यवस्थापन र स्बाब संकलनको अगुवाई स्वास्थ्य कार्यालयले र अनुगमन तथा समग्र पक्षको समन्वय र सहजीकरण कमाण्ड पोष्टले गरेका छन् । समग्र सुरक्षा व्यवस्थापनमा सुरक्षा निकायहरुकै खटनपटन छ भने केहि स्थानीय तहहरुले ज्यालादारी स्वयमसेवक समेत परिचालन गरेका थिए । प्रशासन कार्यालयलाई प्राप्त बजेटको पारदर्शीताबारे प्रश्न उठेपछि खर्च विवरण संकलन गरि सार्वजनिक गरिएको नवआगन्तुक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले जानकारी दिनुभयो । उहाँले कोरोना रोकथाम र नियन्त्रणको लागि सबै पक्षले संयमता अपनाउनुपर्ने बताउँदै आ–आफ्नो क्षेत्रबाट रचनात्मक सहयोग गर्न सबैलाई आह्वान समेत गर्नुभएको छ ।