नगरपालिका क्षेत्रमा योजनाबद्ध तवरले विकास निर्माण अगाडी बढ्छ, :मेयर श्रेष्ठ

  • ११ जेष्ठ २०७४, बिहीबार
  • 3084 पटक पढिएको

म्याग्दी, ११ जेठ । बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठले बेनी नगरपालिका क्षेत्रमा योजनाबद्ध तवरले विकास निर्माणका पूर्वाधार निर्माण हुने बताउनुभएको छ । स्थानीय तह निर्वाचनमा बिजयी जनप्रतिनिधिहरुलाई बेनी स्थित क्याम्पसचोक टोल सुधार तथा संरक्षण समितिले विहिवार आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

नगरपालिकामा नवनिर्वाचित मेयर श्रेष्ठले नगरपालिका क्षेत्रका हरेक बस्तीमा विकासको अनुभुती हुने गरि योजनाबद्ध विकासको आबश्यकता रहेको बताउँदै बजेट र योजना निर्माण प्रकृयामा सबै सरोकारवालाहरुको सक्रिय सहभागिता गराउने प्रतिबद्धता समेत जनाउनुभयो ।

‘‘ अहिले नै यो काम गर्छु भन्नेर बोल्ने अबस्था छैन, विकासका पूर्वाधारको अति नै आबश्यकता छ, गर्नुपर्ने काम धेरै भएकाले योजनाबद्ध तवरले अगाडी बढ्ने योजना बनाएको छु,’’–मेयर श्रेष्ठले भन्नुभयो ।

उहाँले नगरपालिकाको केन्द्र तथा जिल्ला सदरमुकाम समेत रहेको बेनी बजार नदी कटान र भलबाढीको चपेटामा पर्दै आएको हुँदा बजारको सुरक्षाको लागि समेत आबश्यक प्रयास गर्ने बताउनुभयो ।


कार्यक्रममा उपमेयर सञ्जु बरुवालले बेनी नगरपालिका क्षेत्रमा पर्यटनको विकासलाई प्राथमिकतामा राख्नुपर्ने आबश्यकता रहेको बताउँदै शिक्षा, स्वास्थ्य, सडकका पूर्वाधारलाई तिब्र गति दिन आबश्यक रहेको बताउनुभयो । उहाँले बजार क्षेत्रमा युवाहरु दुव्र्यसनीमा फस्ने खतरा बढेको भन्दै आबश्यक जनचेतना अभिबृद्धिका कार्यक्रमलाई समेत आफुले पहल गर्ने बताउनुभयो ।

कार्यmक्रममा वडा नम्बर ८ का अध्यक्ष रामकृष्ण बराईली र वडा नम्बर ७ का अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले बेनीको प्रवेशद्धारा कालिपुल क्षेत्रको सडक व्यवस्थापन, बसपार्कको स्तरोन्नती, क्याम्पसचोक र मंगलाघाट क्षेत्रको बाढी पहिरो नियन्त्रण, खुलामञ्चको स्तरोन्नती लगायतका बेनी बजारका अत्याबश्यक पूर्वाधार निर्माणमा आफुहरुले आबश्यक योजना बनाएको बताउनुभयो ।

कार्यक्रममा म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष जिबन विश्वकर्मा, म्याग्दी जेसीजका शाखा अध्यक्ष नारायणकुमार बराल लगायतले मन्तव्य राख्नुभएको थियो । समितिका अध्यक्ष श्यामप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नगरपालिकाका मेयर, उपमेयर सहित वडा नम्बर ७ र ८ बाट निर्वाचित सबै जनप्रतिनिधिहरुलाई सम्मान गर्दै बधाई ज्ञापन गरिएको थियो भने कार्यक्रमको सञ्चालन समितिका सचिब ठाकुर प्रसाद शर्माले गर्नुभएको थियो ।