बेनी–जोमसोम सडक खुल्यो 

  • ८ भाद्र २०७७, सोमबार
  • 1117 पटक पढिएको

म्याग्दी, ८ भदौ । ४५ दिनदेखि अवरुद्ध बेनी–जोमसोम सडक मर्मतपछि खुलेको छ । कालीगण्डकी नदीको कटान र पहिरोले अवरुद्ध ७६ किलोमिटर दुरीको सडक मर्मतपछि खुलेको हो । काभ्रेभिरमा मर्मतको काम सकिएपछि सोमबार दिउँसोबाट सिधा सवारी सञ्चालन भएको बेनी–जोमसोम कोरला सडकका शुपरभाईजर इन्द्रसिङ शेरचनले जानकारी दिए । नयाँ मार्ग खोलेर सडक संचालनमा आएको बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले बताए ।


म्याग्दी र मुस्ताङको सिमानामा पर्ने काभ्रेभिरमा पहिरो खसेका ठाउँमा नेपाली सेनाको सहयोगमा बिस्फोटक पदार्थ प्रयोग गरेर ट्याक खोलिएको छ । अन्य ठाउँमा अवरुद्ध सडक यसअघिनै मर्मत सकिएको थियो ।धिरच्याङ, जलथले, गुइठेभिर, खामभित्ता, दुवाडी, तितर, रुप्से, घाँसा, घैकु लगायतका ठाउँमा पहिरो पन्छाइएको छ ।रुप्से, घाँसा र घैकुमा निर्माणाधिन मोटर चल्ने पुल बाढीले बगाएको छ । बेनी–जोमसोम सडक अवरुद्ध हुदा मुस्ताङमा खाद्यान्न, इन्धन, निर्माण सामग्री ढुवानी र त्यहाँ उत्पादन भएको कृषि उपज निकासी हुन सकेको थिएन् । बिरामीलाई महँगो रकम खर्चेर हेलिकप्टरबाट अस्पताल लैजानुपर्ने बाध्यता सिर्जना भएको थियो ।