बाढी पहिरोले सडक सकस
- ८ भाद्र २०७७, सोमबार
- 2386 पटक पढिएको
म्याग्दी, ८ भदौ । अब्यवस्थित सडक खन्ने, सडक सुरक्षामा ध्यान नदिने र बाढी नियन्त्रण र पहिरो रोकथाम नहुँदा म्याग्दीका सडक क्षत विक्षत बनेका छन् । महिनौदेखि मुख्य र ग्रामिण सडकहरु पूर्ण रुपमा सञ्चालनमा आउन नसक्दा जनजिवन प्रभावित बनेको छ । खासगरि म्याग्दीमा मुख्य सडक मानिने बेनी–जोमसोम र बेनी– दरबाङ सहित अधिकाँश ग्रामीण सडकमा बाढी, पहिरो र नदि कटानले ठुलो क्षति पु¥याएको छ ।
कालीगण्डकी नदीको कटान र सडक माथिबाट आउने पहिरो र बाढीले बेनी– जोमसोम सडकमा सिधा यातायात अवरुद्ध भएको ४५ दिन भन्दा बढी भएको छ। राहुघाट, खामभित्ता, रुप्से, काभ्रेभिर र घोप्टेभिरमा खस्ने पहिरोले ७६ किलोमिटर दुरीको बेनी–जोमसोम सडक अवरुद्ध भईराख्छ । असार २५ गतेदेखि अवरुद्ध बेनी जोमसोम सडकको विभिन्न ठाउँमा खसेको पहिरो ठाउँ–ठाउँमा गाडी परिवर्तन गर्नुपर्ने कष्टसँगै जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको दानाका रमेश पुर्जाले बताउनुभयो। साँघुरो र अक्करे भीरमा खनिएको सडकमा खसिरहने पहिरोका कारण मर्मतमा समस्या छ भने यात्रा जोखिमपूर्ण बनेको छ।
गलेश्वरमा राहुघाटमा आएको बाढीले भत्काएको बेलिब्रिज, धिरच्याङ, नागढुङ्गा, जलथलेमा कटान गरेको सडक मर्मत सकिएको बेनी–जोमसोम कोरला सडक आयोजनाका प्रमुख अशोक तिवारीले बताउनुभयो। रुप्सेखोलामा बाढीले निर्माणाधिन र चालु अवस्थाको मोटर चल्ने पुल बगाएपछि आवत जावतका लागि काठको अस्थाई पुल बनाइएको छ। सडक मर्मतसँगै पैदलमार्ग र साघु हालिएको आयोजनाका सुपरभाइजर इन्द्रशिंह शेरचनले बताउनुभयो। ‘अन्य अवरुद्ध क्षेत्रमा मर्मत जारी रहेको छ, रुप्से झरनामा बलास्टीङ गरेर सडक निर्माण गरेर सिधा यातायात खुलाउने तयारी भएको छ, मौसमले साथ दिए केहि दिनमा बेनी जोमसोम सिधा यातायात खुल्न सक्छ’– शेरचनले भन्नुभयो ।
बेनी–जोमसोम सडकमा सिधा सवारी अवरुद्ध हुदा म्याग्दीको उत्तरी भेग र मुस्ताङमा खाद्यान्न, इन्धन, निर्माण सामग्री ढुवानी र त्यहाँ उत्पादन भएको कृषि उपज निकासी हुन सकेको छैन्। मुस्ताङमा उत्पादित, आुल बजारमा ल्याउन सकेका छैनन् । स्याउ र आलु कृषकहरुले यातायात खुलाउनका लागि आयोजनालाई ताकेता गरिराखेका छन् । सडक सम्पर्क बिच्छेद भएपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको जनजीवन कष्टकर, विकास आयोजना ठप्प भएका छन्। नियमित विद्युत र सञ्चार सुविधा पनि नहुँदा पहिरो, कटान र बाढीको चपेटामा परेका स्थानीयबासी थप समस्यामा परेका छन्। सडक सहज नहुँदा बिरामीलाई महँगो रकम खर्चेर हेलिकप्टरबाट अस्पताल लैजानुपर्ने बाध्यता छ । लगभग एकमहिना प्रश्चात रघुगंगा नदीले भत्काएको बेलिव्रिज पुललाई मर्मतपछि सुचारु गरिएको छ ।
काभ्रे, कोप्चेपानी, घराप, फगाम, भुरुङ्ग तातोपानी, धिरच्याङ, महभिर र दोसल्लेमा पहिरो र कटानले सडक प्रभावित बनाएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले बताउनुभयो । उहाँले सडकको सहज बनाउन र जोखिमयुक्त बस्तीको अध्ययन, स्थानान्तरण र संरक्षणका लागि प्रदेश र संघीय सरकारलाई अनुरोध गरेको बताउनुभयो। दानातर्फको सडक अवरुद्ध भएर आवत जावत बन्द भएपछि नारच्याङ हुँदै मुस्ताङको घाँसा जोड्ने पुरानो पदमार्ग मर्मत गरेर सञ्चालन गरिएको छ।
अवरुद्ध सडकको अध्ययन गर्दै प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापाले पहिरोबाट क्षतिग्रस्त संरचनाको पुननिर्माण, भुगर्भबिद्को टोलीबाट जोखिमयुक्त बस्तीको अध्ययन गराएर स्थानान्तरण, घरबास गुमाएकाको पुनस्थापना र जोखिम न्युनीकरणका लागि संरक्षणमा पहल गर्ने बताउनुभयो। प्रदेशसभा सदस्य बिनोद केसीले तत्कालिन रुपमा जनजीवनलाई सहज बनाउन सडक, विद्युत, सञ्चार सेवालाई नियमित सञ्चालन गर्ने, खानेपानी आयोजनाहरु मर्मत तथा जोखिमयुक्त ठाउँमा संरक्षणका योजना सञ्चालनमा पहल गर्ने बताउनुभयो ।
कालिगण्डकी करिडोर अन्र्तगत आयोजनाले बेनी÷जोमसोम ७६ किमि सडकमा ४ खण्ड र जोमसोम÷कोरला १ सय १० किमी सडक ७ खण्डमा विभाजन छ । २०७४ सालदेखि सुरु भएको राष्ट्रिय प्राथमिकताको आयोजना अन्र्तगत बेनी÷जोमसोम ७६ किमी सडकमा २ वटा प्याकेजमा सडक स्तरोन्नतिको जिम्मा शर्मा गजुरमुखीले लिएको छ ।
त्यस्तै म्याग्दीको पश्चिम भेगका जनतालाई सुविधा पुग्ने बेनी– दरवाङ सडकपनि म्याग्दी नदीको कटान र पहिरो चलिरहदाँ जनतालाई जोखिम पुर्ण यात्रा गर्न बाध्य छन् । सडक सम्पर्क विक्षत हुदाँ धौलागिरि गाउँपालिका– मराङ र मालिका गाउँपालिका–७ विममा पहिरोमा परेर घाईते र विस्थापितहरुलाई हेलिकप्टरबाट खाद्यान्न र उद्धार गरिएको थियो । जिल्लाको रघुगंगा गाउँपालिकाको राहुघाटदेखि पिप्ले हुँदै भगवती र गाउँपालिकाको केन्द्र मौवाफाँट जोड्ने सडक सहित जिल्लाका अधिकाँश ग्रामीण सडक क्षतविक्षत भएका छन् । जस्ले गर्दा आवत जावतमा समस्या हुनुको साथै अत्याबश्यक सामान ढुवानीमा समस्या निम्तिएको छ भने गाउँका नागरिक महंगीको चपेटामा परेका छन् ।
सडक खन्नु अघि वातावरणीय प्रभाव अध्ययन हुने
सडककै कारण हुने जनधनको क्षति न्युनिकरण गर्न म्याग्दीमा वातावरणीय प्रभाव अध्ययन गरेर मात्र सडक खन्ने निणर्य भएको छ । जिल्ला प्रशासन कार्यालयको आयोजनामा भएको सर्वपक्षीय बैठकले पहिरो, भू–क्षय, कटान र बाढीको समस्या न्युनीकरणका लागि सडकको ट्याक खन्नु अघि वातावरणमा पर्ने प्रभाव अध्ययन गरिने निर्णय भएको हो । प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीको अध्यक्षतामा तीन तहका जनप्रतिनिधि, राजनीतिक दल, कार्यालय प्रमुखको उपस्थितमा भएको सर्वपक्षिय बैठकमा सडकका कारण जनधनको क्षति, बस्ती विस्थापीत हुने क्रम बढेको कारण नयाँ ट्रयाक खन्दा वातावरणीय प्रभाब अध्ययन गरेर खन्ने सहमति सहित निर्णय भएको हो ।
भिरालो भुभाग, तीन ठुला नदी र अब्यवस्थित सडक निर्माणले पछिल्लो समय बाढी पहिरो निम्त्याउने र त्यसकै कारण जनधनको क्षति समेत बढेको छ । र्दुई दर्जन भन्दा बढी बस्ती पहिरो र नदी कटानको जोखिम कारण सुरक्षित स्थानमा विस्तापित भएका छन् । जथाभावी खनिएका सडकका कारण बाढी, पहिरो र भूक्षयलाई प्रशय पुगेको, कतिपय स्थानमा सडक नजिकका बस्तिहरुनै विस्थापित हुनुपर्ने अवस्था सिर्जना भएकाले अनिवार्य रुपमा वातावरणीय प्रभाब अध्ययन गरेर मात्र सडकको ट्याक खन्ने सरोकारहरुले निर्णय गरेको प्रजिअ अधिकारीले बताउनुभयो।
बैठकले जिल्लामा सञ्चालित सडक आयोजनाका निर्माण कम्पनीहरुले कार्यक्षेत्रमा उपकरण र जनशक्ति तयारी अवस्थामा राख्नुपर्ने, पहिरोका कारण अवरुद्ध सडकमा नियमित सवारी सञ्चालनका लागि निर्माण कम्पनी मर्मतमा तयार रहने, निर्माण ब्यवसायीलाई सम्पर्कमा ल्याउने निर्णय गरेको छ । विकास आयोजनामा शान्ति सुरक्षाको भरपर्दो व्यवस्थापन गरि ढिलासुस्ति हटाउने र समयमै सम्पन्न गराउने निर्णय गरेको छ । असार २६ र त्यसपछाडीको अबिरल बर्षाका कारण बाढी, पहिरो, भू–क्षय लगायत प्राकृतिक प्रकोपबाट पीडित भएकाहरुलाई राहत वितरणलाई व्यवस्थित बनाउने र पुर्नवासको योजनाका लागि पहल गर्ने निर्णय भएको छ । कोरोना भाइरस रोकथामका लागि अन्तर जिल्लाको आवत जावतलाई ब्यवस्थित बनाउने, सेवा प्रवाहलाई सहज, पारदर्शीता, शुसासन कायम गर्ने, लागु पदार्थ दुव्र्यसनी, बालबिवाह, जुवातास, अवैध मदिराको नियन्त्रण, सुर्तिजन्य पदार्थको नियमनका चालिएका कदमलाई सबै क्षेत्रबाट सहयोग गर्ने निर्णय भएको सहायक प्रजिअ महेश सुवेदीले जानकारी दिनुभयो ।
जिसस प्रमुख देवेन्द्रबहादुर केसीले जिल्लामा पछिल्लो समय बाढी पहिरोका क्षतिले सासंद, स्थानीय तहका जनप्रतिनिधि, स्थानीयबासीलाई जिम्मेवार बनाएको बताउदै वातावरणीय प्रभाव मुल्याकंन गरेर सडक स्नरोन्नती र नयाँ ट्रयाक निर्माण हुनेपर्नेमा जोड दिनुभएको थियो । प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापा, संविधान सभा सदस्य रेशम बानियाँ र प्रदेशसभा सदस्य विनोद र स्थानीय तहका प्रमुख लगायतका सहभागिहरुले प्रशासनले समन्वयको भूमिका निर्वाह गर्नुपर्ने, विपद् ब्यवस्थापन कोष र कोरोना नियन्त्रणमा भएको खर्च पारदर्शी बनाउनृुपर्ने, शुसासन कायम गराउन र सुरक्षालाई चुस्त बनाउन सबै मिलेर लाग्नुपर्नेमा जोड दिनुभएको थियो ।