पहिरो प्रभावित बस्ति मराङमा नेकपाको भातृ संगठनको श्रमशिविर

  • १२ श्रावण २०७७, सोमबार
  • 2345 पटक पढिएको

 

म्याग्दी, १२ साउन । असार २५ गतेको पहिरोबाट अति प्रभावित म्याग्दीको धवलागिरी गाउपालिका–६ मराङका विभिन्न बस्तिमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का भातृ संगठनले श्रमशिविर सन्चालन गरेका छन् । राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववीयू म्याग्दीले पहिरोबाट घरबास गुमाएका र जोखिममा परेकाहरुको अस्थाई बसोबासका लागि टहरा बनाउने, पहिरोले अवरुद्ध बनाएको घोरेटोबाटो मर्मत गर्ने, खानेपानी मर्मत गर्ने लगायत कामका लागि श्रम शिविर सञ्चालन गरेका हुन् ।

शुक्रबार बेनीबाट पुगेका ३५ जना युवा र विद्यार्थी संगठनका नेता तथा कार्यकर्ताहरुको टोलीले स्थानीय युवा क्लवसँगको सहकार्यमा पहिरो पिडितको ब्यवस्थापनमा सहयोग गरेका हुन् । शनिबार बेशीमा आठ वटा टहरा बनाएका थिए । आइतबार घण्टीवाङ र रिखका पहिरो पिडित बसेको आरवाङको जनविकास आधारभूत विद्यालयमा दुई वटा अस्थाई शौचालय र सेफ्टी ट्याङ्की बनाएको राष्ट्रिय युवा संघका जिल्ला संयोजक प्रविण शाहीले बताए ।

कुम्रिमा १४ वटा टहरा बनाएका छन् । आइतबार कुम्रिमा ३० र आरबाङमा १० जनाको टोलीले काम गरेका थिए । राम्चेमा पनि अस्थाई टहरा बनाउने तयारी गरेका छन् । एक हप्ता श्रम गरेर टोली फर्कने राष्ट्रिय युवा संघका सहसंयोजक सन्दिप खत्रीले बताए । मराङको कल्लेनी, राम्चे, ठूलोगाउँ, कुम्रि र रिखमा पहिरोमा परि १९ जनाको मृत्यु भएको थियो । दुई जना अझै वेपत्ता भएका छन् । पहिरोले बगाएर र जोखिममा परेर वडाका धेरै घर विस्थापित भएका छन् । सडक र घोरेटो बाटो समेत अवरुद्ध बनेकाले जनजिवन कष्टकर अवस्थामा छ ।