हेलिकप्टरमार्फत ट्रान्सफर्मर, राहत सामग्री ढुवानी र घाइतेको उद्दार
- ११ श्रावण २०७७, आईतवार
- 1484 पटक पढिएको
म्याग्दी, ११ साउन । सडक सम्पर्क बिच्छेद भएका म्याग्दीको पहिरो प्रभावित क्षेत्रमा सिम्रिक एयरको हेलिकप्टरबाट ट्रान्सफर्मर र राहत सामग्री ढुवानीका साथै घाइतेको उद्दार गरिएको छ । मंगला गाउपालिका–५ कुरसिम्लामा ट्रान्सफर्मर, अन्नपूर्ण गाउपालिका–३ काभ्रे र वडा न. ४ कोप्चेपानीमा खाद्यान्न ढुवानी गर्न गएको हेलिले पहिरोमा पुरिएर घाइते भएका नारच्याङका एक युवालाई अस्पताल पु¥याएको हो ।
असार २६ गते म्याग्दी नदीको बाढीले कुरम्लिामा रहेको १०० केभी क्षमताको ट्रान्सफर्मर, मुख्य र सहायक लाइनको पोल तथा तार बगाएपछि करिब दुई हजार घरधुरीको बसोबास भएको अर्मन र आसपासका बस्ति दुई सातादेखि अन्धकार बनेको छ । ‘पहिरोले बाटोघाटो बिग्रिएकाले गाडी र मानिसबाट ट्रान्सफर्मर ढुवानी गर्न सम्भव नभएपछि हेलिकप्टर प्रयोग गरेका हौ,’ मंगला गाउपालिकाका अध्यक्ष सतप्रसाद रोकाले भन्नुभयो ‘विद्युत प्राधिरणले उपलब्ध गराएको ट्रान्सफर्मर बेनीबाट ढुवानी गर्न अर्मन समाज युएसले सहयोग गरेका छन् ।’
समाजले तीन लाख २५ हजार, अमेरिकामा रहेका अध्यक्ष रोकाका छोरीहरुले एक लाख रुपैयाँ र अन्नपूर्ण गाउपालिकाका अध्यक्ष डमबहादुर पुनले २५ हजार सहयोग गरेका थिए । ढुवानीमा खर्च भएको दुई लाख ७५ हजार रुपैयाँ बाहेकको रकम अर्मनमा हुने अन्य विपद्को ब्यवस्थापनका परिचालन गर्ने गरि गाउपालिकाको विपद् ब्यवस्थापन कोषमा राखिएको छ ।
यसैगरी साउन ५ गते रुप्सेखोलामा आएको बाढी, कटान र पहिरोका कारण सडक सम्पर्क बिच्छेद भएको अन्नपूर्ण गाउपालिकाको काभ्रे र कोप्चेपानीमा पहिरोबाट विस्थापित भएकाहरुका लागि बेनीबाट सोही हेलिकप्टरबाट खाद्यान्न लगिएको छ । खाद्यान्न लिएर गएको हेलिकप्टरले फर्कदा पहिरोमा घाइते भएका अन्नपूर्ण –४ नारच्याङका अनिश गर्बुजालाई उद्दार गरेर पोखराको मणिपाल शिक्षण अस्पताल पु¥याएको गाउपालिकाका अध्यक्ष पुनले बताउनुभयो ।
साउन ६ गते बेनी–जोमसोम सडक अन्तरगत नागढुङ्गामा हिडिरहेको अवस्थामा खसेको पहिरोले चोट लागेर घाइते भएका गर्बुजालाई स्थानीय स्वास्थ्य संस्थाले रिफर गरेपनि सडक नभएकाले अस्पताल पु¥याउन सकिएको थिएन् । सिम्रिक एयरको पश्चिमाञ्चल क्षेत्रीय प्रमुख कमल गौतमले सामाजिक कार्यमा छुट गरिएको बताउनुभयो । ‘कोभिडको समयमा सिम्रिकले राहत, उद्धार जस्ता सामाजिक काममा छुट दिएका छौ,’ उहाले भन्नुभयो ‘सामान्य समयमा सात लाख रुपैयाँ खर्च उठ्यो, पाँच लाख दश हजारमा ट्रान्सफर्मर र खाद्यान्न ढुवानी तथा बिरामीलाई अस्पताल ल्यायौ ।’
अन्नपूर्ण गाउपालिकाको काभ्रे, तितर, दुवारी, कोप्चेपानी, गाडपार, घराप, हल्लेखर्क, धिरच्याङ, भुरुङ्ग–तातोपानीमा ७० घर परिवार विस्थापित र दोवाका १० घर जोखिममा रहेका सूचना अधिकारी कुलप्रसाद आचार्यले बताउनुभयो । पहिरो, नदी कटान र खोलामा आउने बाढीबाट जोखिममा रहेकाहरुलाई सुरक्षित ठाउँमा सारिएको छ ।
यसैबीच पहिरोले सडक सम्पर्क बिच्छेद भएको धवलागिरी गाउपालिका–६ राम्चेबाट पनि शनिबार एक जना गर्भवतिलाई एयर डाइनेस्टिको हेलिबाट उद्दार गरिएको छ । सुत्केरी हुने मिति नजिकिएपनि घोरेटोबाटो नभएकाले अस्पताल पुग्न नसकेकी २० वर्षीया करुणा श्रीपालीलाई ओमकुमारी शान्ति कोषका अध्यक्ष राजेश शाक्यको खर्चमा राम्चेबाट उद्दार गरेर दरवाङ ल्याइएको हो । अध्यक्ष शाक्यले राम्चेका पहिरो पिडित सुत्केरीहरुको परिवारका लागि दश बोरा चामल र चार प्याक खाने तेल उपलब्ध गराउनुभएको थियो ।