३ जना कोरोना संक्रमित म्याग्दीमा थपिए

  • ६ श्रावण २०७७, मंगलवार
  • 1399 पटक पढिएको

म्याग्दी, ६ साउन । म्याग्दीमा मंगलबार थप तीन जनामा कोरोना (भाइरस) संक्रमण पुष्टि भएको छ । विदेशबाट आएर बेनी स्थित क्वारेन्टिनमा बसेकाहरुको साउन ३ गते संकलन गरिएको स्वाब नमुनाको पोखरा स्थित प्रयोगशालामा परिक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालका अनुसार बेनी नगरपालिकाकाका एक र अन्नपूर्ण गाउपालिकाका दुई जनामा कोरोना पुष्टि भएको हो ।


साउदी अरबबाट आएर म्याग्दी बहुमुखी क्याम्पसको क्वारेन्टिनमा बसेका अन्नपूर्ण गाउपालिका–२ भुरुङ्ग–तातोपानीकाका २३ र २४ वर्षका दुई जना युवामा कोरोना भाइरस पुष्टि भएको छ । यसैगरी न्यु वेष्ट पोइन्ट आवासीय माविको क्वारेन्टिनमा बसेका बेनी नगरपालिका–४ का कोरोना संक्रमिति ३२ वर्षका पुरुष बहराइनबाट आएका हुन् । उनिहरुलाई उपचारका लागि खुल्ला मञ्च स्थित शैक्षिक तालिम केन्द्रको भवनमा बेनी अस्पतालले सञ्चालन गरेको आइसोलेशनमा लगिएको छ ।

म्याग्दी जिल्लाबाट हालसम्म ६५६ वटा स्वाबको नमुना परिक्षणका लागि प्रयोगशालामा पठाइएकोमा सबैको नतिजा आएको छ । हालसम्म ४३ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा ५ जना महिला सहित ३४ जना निको भएर घर गएका छन् । नौ जना आइसोलेशनमा छन् ।