बाढीले बगाएर काभ्रेमा एक जना बेपत्ता, भुरङतातोपानीमा सडक कटान
- ६ श्रावण २०७७, मंगलवार
- 2263 पटक पढिएको
म्याग्दी, ६ साउन । निरन्तरण बर्षातपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाको काभ्रेस्थित भजेनी खोलामा आएको बाढीले स्थानीय ६५ वर्षीय बलबहादुर गर्बुजालाई कालीगण्डकी नदीमा बेपत्ता बनाएको छ । https://www.youtube.com/watch?v=wzyhndfUtL0&feature=share चरनबाट लिएर आएको बाख्रा तार्ने क्रममा उनलाई खोलाले बगाएर बेपत्ता भएकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक किरणजंग कुवरले जानकारी दिए ।
कालीगण्डकी, म्याग्दी र रघुगंगा नदीमा आएको बाढीले सडक, झोलुङ्गे पुल र मन्दिर बगाएको छ। प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालका अनुसार अन्नपुर्ण गाउँपालिका ३ र ४ वडास्थित सुकेबगर र घराप जोड्ने अर्को झोलुङ्गे पुल बगाएको छ । रुप्से झरनाले झरना नजिक रहेको होटल, बस र जेसिभि बगाएको छ । रघुगंगा गाउँपालिका ३स्थित चमेरामा पार्किङ गरेर राखेको दुई वटा ट्याक्टर कालीगण्डकी नदीले बगाएको प्रहरी नायव उपरिक्षक किरणजंग कुवरले जानकारी दिए । त्यस्तै अन्नपुर्ण गाउँपालिका–२ स्थित भुरुङतातोपानीमा नदीले सडक कटान गर्दै बस्ती जोखिममा पारेको छ।
कालीगण्डकी र रघुगंगा नदीको दोभान स्थित जलजला गाउपालिका–२ मा रहेको धार्मिक स्थल राममन्दिरको धर्मशाला बाढीले कटान गरेर बगाएको छ। त्यहाँ रहेका मान्छे, सामानहरु सुरक्षित स्थान सारिएको प्रजिअ ढकालले जानकारी दिएका छन् । नदीको कटानले सडकको अवस्था र बस्तीमा परेको असर संकलन भईरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
यसअघि गत असार २५ गते रघुगंगा नदीमा आएको बाढीले गलेश्वरको बेलिब्रिज भत्काएपछि अवरुद्ध मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने सडक धेरै ठाउँमा पहिरो र बाढीले बगाएपछि विगत १३ दिनदेखि पूर्ण रुपमा सिधा यातायात बन्द रहेको छ । तस्विरः ओम फगामी