६ जना कोरोना संक्रमित म्याग्दीमा थपिए
- ४ श्रावण २०७७, आईतवार
- 923 पटक पढिएको
म्याग्दी, ४ साउन । आइतबार म्याग्दीमा ६ जना पुरुषमा कोरोना (भाइरस) संक्रमण पुष्टि भएको छ । विदेशबाट आएर बेनी स्थित क्वारेन्टिनमा बसेकाहरुको असार ३१ गते संकलन गरिएको स्वाब नमुनाको पोखरा स्थित प्रयोगशालामा परिक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालका अनुसार बेनी नगरपालिकाका र अन्नपूर्ण गाउपालिकाका १÷१, मंगला र मालिका गाउपालिकाका दुई÷दुई जनामा कोरोना पुष्टि भएको हो ।
बेनी नगरपालिका–१का ३२, मालिका–१ का ३४ र ३१ वर्षका एक÷एक जना युवा रहेका छन् । अन्नपूर्ण–६ का ३१ वर्षका र मंगला गाउपालिका–२ का ३० र ३१ वर्षका पुरुष छन् । भारत, कुवेत र दुवईबाट आएका उनिहरु न्यु वेष्ट पोइन्ट, म्याग्दी क्याम्पस र माउन्ट एभरेष्ट आवासीय माविको क्वारेन्टिनमा बसेका थिए ।
उनिहरुलाई खुल्ला मञ्च स्थित शैक्षिक तालिम केन्द्रको भवनमा बेनी अस्पतालले सञ्चालन गरेको आइसोलेशनमा राखिएको छ । उनिहरुको स्वास्थ्य अवस्था सामान्य छ । म्याग्दी जिल्लाबाट हालसम्म ६५६ वटा स्वाबको नमुना परिक्षणका लागि प्रयोगशालामा पठाइएकोमा ६०१ वटाको नतिजा आएको छ ।
५१ वटा नमुना (संक्रमित बिरामीको दोस्रो र तेस्रो) पटकको हो । हालसम्म ४० जनामा कोरोना संक्रमण पुष्टि भएकोमा ५ जना महिला सहित १५ जना निको भएर घर गएका स्वास्थ्य कार्यालयका निमित्त प्रमुख लम्सालले बताए ।
गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार म्याग्दीका छ सहित आइतबार गण्डकी प्रदेशको पर्वत, बागलुङ र स्याङ्जामा २÷२ जना संक्रमित थपिएका छन् । पर्वतको जलजला गाउपालिकाका ३५ वर्षका र महाशिला गाउपालिकाका ३२ वर्षका, बागलुङको बडीगाड गाउपालिका २६ र काठेखोला गाउपालिकाका २६, स्याङ्जाको पुतलीबजारका ३६ वर्षका र कालिगण्डकीका ३१ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।