नेपाली काँग्रेसले मराङमा पहिरोबाट विस्थापित परिवारलाई राहत वितरण
- १ श्रावण २०७७, बिहीबार
- 1340 पटक पढिएको
म्याग्दी, १ साउन । नेपाली काग्रेस म्याग्दीले धौलागिरि गाउँपालिका–६ मराङस्थित कल्लेनीका पहिरोबाट विस्थापित परिवारलाई राहत वितरण गरेको छ । असार २५ गते अविरबर्षासंगै बाढी र पहिरोबाट पीडित र विस्थापित परिवारलाई शिवाङ मावि ताकममा पुगेर राहत वितरण गरेको हो ।
कल्लेनीमा पहिरोको जोखिमबाट विस्थापित भएर ताकमको सिवाङ माविमा बसेका ६० जनालाई १ लाख १७ हजारको राहत वितरण गरेको काग्रेसका सहसचिव भरत रकाले जानकारी दिए । उनीहरुलाई ८५ हजारको खाद्यान्न र ३२ हजारको लत्ताकपडा उपलब्ध गराएका हुन् । राहत वितरणमा सभापति खमविर गुर्वजा नेतृत्वको टोलीमा उपसभापति रेग्मी, सहसचिव रकाल, महिला संघकी अध्यक्ष बिमला गौचनको उपस्थिती रहेको थियो ।
हेलिकप्टरमार्फत १ लाख १७ हजार बराबरको राहत साम्रागी लगेर सो क्षेत्रमा वितरण गरेका हुन् । पहिरोले बस्ती छियाछिया बस्तीका बासीन्दालाई सुरक्षित बस्ने ब्यवस्था मिलाउनका लागि तत्काल एकीकृत बस्तीको योजना अघि लगेर पुर्वाधार निर्माणमा सरकार लाग्नुपर्ने युवा नेता रकालले बताए । उनले पहिरोबाट पीडितका लागि आवश्यक सहयोग उपलब्ध गराउन हालसम्म ८ लाख सहयोग संकलन भएको जानकारी गराए ।
त्यस्तै तरुण दल र नेविसंघ म्याग्दीले ३ लाख ५० हजारको राहत पाखापानी हुदै खच्चड ढुवानीबाट मराङमा पु¥याएको रकालले जानकारी दिए ।
मराङमा १९ जनाको पहिरोमा पुरिएर निधन भएको छ, मध्ये २ जना वेपत्ता छन् । मराङ र विममा पहिरोमा परेर ३३ जना वेपत्तामध्य २९ जनाको शव भेटिएको थियो । तिन तहको सरकार, राजनीतिक दल र विभिन्न सामाजिक संघसस्था राहत संकलन र उद्धारमा क्षतिग्रस्त क्षेत्रमा खटिएका छन् ।