बाढी पहिरोमा बेपत्तामध्ये २७ जनाको शव उद्धार टोलीद्धारा फेला

  • २८ असार २०७७, आईतवार
  • 1370 पटक पढिएको

बेनी, २७ असार । म्याग्दीको धौलागिरि, मालिका र रघुगंगा गाउँपालिकासहित २७ जना ब्यक्तिहरु मृतअवस्था भेटिएका छन् । जनप्रतिनिधि, सुरक्षाकर्मी र स्थानीयको सक्रियतामा पहिरोमा परेर बेपत्ता भएका २७ जनाको मृत भेटाएको हो । धवलागिरी–६ मराङका १८, मालिका–७ बिमका ८ र रघुगंगा–६ ठाडाखानीका १ जनाको शव भेटिएको डिएसपी किरनजंग कुँवरले बताए ।


वेपत्तामध्य तिन जना जिवितै सम्पर्कमा आएका छन । मराङको रिखको पहिरोमा वेपत्ता भएका ४० वर्षीय धनबहादुर जुग्जाली, ३३ वर्षीय रितुकुमारी जुग्जाली, अर्जुन जुग्जाली जिवितै सम्पर्कमा आएका जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

पहिरोले पुरिएका मालिका–७ बिमकी एलिसा केसी, धवलागिरी–६ कल्लेनीकी जनिमा केसी, सबिन पुन र दुखुखोलामा वेपत्ता भएकी मालिका–६ की गिता रोका भेटिएका छैनन् । उनीहरु चार जना अझै वेपत्ता छन् ।

उनले धवलागिरी–६ मराङ्गका तुलबहादुर क्षेत्री, सुकना लामगादे, आशिस लामगादे, आयुष लामगादे, आयुषा लामगादे, रेश्मा सुनार, मन सुनार, कमला श्रीपाली, सुरक्षा श्रीपाली, सुरज श्रीपाली, प्रकाश केसी, हिरा मति जुग्जाली, करिश्मा जुग्जाली, कञ्चन जुग्जाली, गौशरा जुग्जाली, दिमा जुग्जाली, दिप्ती जुग्जाली र दिवान जुग्जालीको मृत्यु भएको छ ।

मालिका–७ विमकी बिष्णु पौडेल, ईच्छा पौडेल, गौदेवी नेपाली, विशेष नेपाली, विर बहादुर नेपाली, निशा नेपाली, बिष्णु नेपाली, सन्दिप नेपालीको पनि पहिरोमा पुरिएर मृत्यु भएको छ । लापु खोलाले बगाएर रघुगंगा–६ ठाडाखानीका ५० वर्षीय नलीमान छन्त्यालको मृत्यु भएको थियो ।

प्रहरीका अनुसार पहिरोको जोखिममा रहेका धवलागिरी गाउपालिकाका ५९०, मालिकाका १९६, रघुगंगाका ८५ र बेनी नगरपालिकाका २५ जनालाई सुरक्षित ठाउँमा सारिएको छ ।

पहिरोमा घाइते भएका १२ जनाको हेलिकप्टरबाट उद्दार गरिएकोमा ७ जनाको बेनी अस्पताल, १ जनाको काठमाडौ र ४ जनाको मणीपाल शिक्षण अस्पताल पोखरामा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।