मराङ र विममा २० जनाको शव भेटियो (नामसहित)

  • २७ असार २०७७, शनिबार
  • 1777 पटक पढिएको

म्याग्दी, २७ असार । जिल्लाको विभिन्न ठाउँमा बाढी पहिरोमा परेर ३३ जना बेपत्ता मध्ये म्याग्दीको धौलागिरि, मालिका र रघुगंगा गाउँपालिकासहित २० जनाको शब भेटिएको छ । जनप्रतिनिधि, स्थानीय युवाहरु र उद्धार र सुरक्षा टोलीद्धारा पहिरोमा पुरिएका २० जनाको शब भेटाएको हो ।


धौलागिरि गाउँपालिकाको मराङ ११ र मालिका गाउँपालिका विममा ८ रघुगंगा गाउँपालिकाको ठाडाखानीमा १ जनाको शव हालसम्म भेटिएको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले जानकारी दिए । मराङमा १० जना मालिका गाउँपालिका विम र दुखुमा गरेर २ जना बेपत्ता रहेको प्रहरी नायव उपरिक्षक किरणजंग कुवरले जानकारी दिएका छन् ।
धौलागिरी र मालिका गाउँपालिकामा बेपत्ताको खोजीमा खटिएका नेपाल प्रहरी, नेपाली सेना, शसस्त्र प्रहरी, जनप्रतिनिधि र स्थानीयबासीहरुले पहिरोले पुरिएकाहरुको शव फेला पारेको हो । उनीहरु बेपत्ता १३ जनालाई पहिरोमा खोजि रहेको प्रजिअ ढकालले जानकारी दिएका छन् ।

धवलागिरी–६ कल्लेनीका १८ वर्षीय प्रकाश केसी, राम्चेका सुकना लामगादे, आशिस दामगादे, आयुष लामगादे, आयुषा लामगादे, रेश्मा सुनार, मनबहादुर श्रीपाली, कमला श्रीपाली, सुरक्षा श्रीपाली र सुरज श्रीपालीको शव भेटिएको चौधरीले जानकारी दिए । त्यस्तै पहिरोले पुरिएका मराङको ठूलोगाउँका ६२ वर्षीय तुलबहादुर केसीको शव भेटिएको जानकारी आएको छ।
त्यस्तै मालिका गाउँपािलका विममा बिष्णु शर्मा, इच्छा केसी, गौदेवी नेपाली, विशेष नेपाली, बिरबहादुर नेपाली, उनका ३ महिनाका छोरा, बिष्णु नेपाली, सन्दिप नेपालीको शव भेटिएको प्रहरी कार्यालयले जानकारी दिएको छ। शुक्रबार खोलाले बगाएर रघुगंगा–६ ठाडाखानीका ५० वर्षीय नलीमान छन्त्यालको मृत्यु भएको थियो ।

मराङको रिखमा ४० वर्षीय धनबहादुर जुग्जाली, ३३ वर्षीय रितुकुमारी जुग्जाली, १० वर्षीया करिस्मा जुग्जाली, ८ वषीय कञ्चन जुग्जाली, ५ वर्षीय अर्जुन जुग्जाली, ५५ वर्षीया गौशरा जुग्जाली, २१ वर्षीया दिमा जुग्जाली, ३ वर्षीय दिप्ती जुग्जाली र १ वर्षीय दिवन जुग्जाली वेपत्ता छन् । कल्लेनीका ५१ वर्षीय जनिमा केसी र १६ वर्षीय सबिन पुनको खोजी भैरहेको छ । दुखुखोलाले बगाएर वेपत्ता भएकी मालिका–६ की ४० वषीया गिता रोकाको अवस्था पनि अज्ञात छ ।

पहिरोमा परेर घाइते भएका मराङका २ र बिमका १ जनाको ओमकुमारी शान्ति कोष र जिसी ग्रुपको समन्वयमा प्रभु एयरको हेलीकप्टरबाट शनिबार उद्धार गरिएको थियो । मराङकी २२ वर्षीया मञ्जिता श्रीपाली र ७ वर्षका सफल श्रीपालीलाई मणिपाल शिक्षण अस्पताल पोखरा रिफर गरिएको छ । बिमका ४० वर्षीय पूर्ण परियारको बेनी अस्पतालमा उपचार भैरहेको छ । ताकममा २, कल्लेनीमा २ र राम्चेमा २ जना घाइतेको उद्दार गर्न बाँकी छ ।

मराङमा पहिरो जोखिममा परेर विस्थापित भएका परिवारलाई हेलिकप्टरमा मार्फत ५० बोरा चामल, २ बोरा दाल, ८० काटुन तेल, नुन लगायतको सामाग्री र नेपाली सेनाको हेलिकप्टर मार्फत पुगेको प्रजिअ ढकालले जानकारी दिए । पहिरोमा पुरेर घाईते भएका ११ जनाको शनिबार प्रभु एयरको हेलिकप्टरबाट उद्धार गरी बेनी अस्पताल र पोखरा मणिपाल अस्पतालमा उपचारका लागि लगिएको थियो ।
पहिरो कारण मराङमा ५० घर विस्थापित भएका छन्, जिल्लाको विभिन्न स्थानमा गरेर ७ सय ४० जना मानिसहरुलाई सुरक्षित स्थान राखिएको उनले जानकारी दिए । बेपत्ताको खोजी कार्यको लागि जनप्रतिनिधि, छिमेकी गाउँका युवाहरु, उद्धार टोली र सुरक्षा टोली घटनास्थलमा खटिएका छन् ।
धौलागिरी गाउँपालिकाको रिखा, नामरुक, ठुलोगाउँ, कुम्री लगायतको क्षेत्रको घर बगाउनुसाथै त्यहा अन्यबासिन्दालाई विस्तापित गराएको थियो । विस्थापित परिवारलाई ताकम, राम्चेस्थित दलित सामुदायिक भवन र जनविकास आधारभूत विद्यालयमा राखिएको छ मराङका वडा अध्यक्ष राजाराम सुवेदीले जानकारी दिए ।

बाढी र पहिरोमा परि विस्थापित भएका र पीडित परिवारको जिल्लामा रहेका राजनीतिक दल, स्थानीय तह, संघसस्था लगायतले राहत संकलन गरिरहेका छन् ।