म्याग्दीमा पहिरोमा वेपत्ताको संख्या २९ पुग्यो

  • २६ असार २०७७, शुक्रबार
  • 1770 पटक पढिएको

 

म्याग्दी, २६ असार । लगातारको बर्षासँगै पहिरो जाँदा म्याग्दीको विभिन्न स्थानमा गरेर २९ जना बेपत्ता भएका छन् । म्याग्दीको धवलागिरी गाउपालिका मराङमा २१ जना र मालिका गाउँपालिकाको विममा ८ जना बेपत्ता भएका हुन् । घटनास्थलमा प्रहरी टोली नपुगेको कारण कति जना बेपत्ता, कति घरमा क्षति पुगको विवरण आउन बाकी रहेको प्रहरी नायव उपरिक्षक किरणजंग कुवरले जानकारी दिए ।

मराङको रिखामा ७, नामरुकमा १०, ठूलोगाउमा १ र कुम्रिमा १ जना वेपत्ता भएका वडा अध्यक्ष राजाराम सवेदीले बताए । रिखका भिमप्रसाद जुग्जालीको घरका चार र धनबहादुर जुग्जालीको घरका तीन जना वेपत्ता भएका हुन् । सोही वडाको कल्लेनीको धारखोलामा आएको बाढीले तीन वटा घर बगाउँदा तीन जना वेपत्ता भएका छन् । ताजिमा केसी, उनका छोरा प्रकाश र सबिन पुन वेपत्ता भएका हुन् । परदेवी पुन र बिरबहादुर पुनको घर पनि बाढीले बगाएको छ । परदेवीलाई घाइते अवस्थामा उद्धार गरिएको छ ।

यसैगरी मालिका गाउपालिका–७ बिमको दुलेमा पहिरोले पुरिदा बिष्णु शर्मा र इच्छा शर्मा वेपत्ता भएका छन् । वडा अध्यक्ष रेशम जुग्जालीका अनुसार नौरुकी एलीसा शर्मा पनि पहिरोमा वेपत्ता भएकी छिन् । नौमानेको शिव आधारभूत विद्यालयको भवनमा क्षति पुगेको छ । बिम तल्लो गाउका पूर्ण नेपाली र बिरबहादुर नेपालीको घर पुरिदा पाँच जना वेपत्ता भएका छन् । भारवाङ स्थित शिवरात्री खोलामा रहेको ट्रस पुल बाढीले बगाएको स्थानीय थमन जुग्जालीले बताए । मालिका–५ देविस्थानमा खिमबहादुर पुन, कलिमा बुढा लगायत चार वटा गोठ पुरिएको र छ घर तथा झोलुङ्गे पुल जोखिममा परेको छ ।

धवलागिरी गाउपालिका–७ ताकमको रत्नेगैरामा रहेको ताकम माविको पुस्तकालय भवन बाढीले बगाएको स्थानीय गणेश सुवेदीले जानकारी दिए । ताकम स्वास्थ्य चौकीको पुरानो भवन भत्कीएको छ । पाखोको भल पसेर किमचौर फाँटमा भर्खरै रोपिएको धान नष्ट भएको छ । हिलापोखरीमा रेशम फगामीको घर भत्कीएको छ । मानवीय क्षति भने भएको छैन् । ताकमकै देउबुजामा छ घर पहिरोको जोखिममा परेका स्थानीय गोपाल आचार्यले बताउनुभयो ।

यसैबीच रघुगंगा नदीमा आएको बाढीले राहुघाटको बेलिब्रिज बगाएपछि म्याग्दीको रघुगंगा र अन्नपूर्ण गाउपालिका हुदै मुस्ताङ जोड्ने बेनी जोमसोम सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । बेलिब्रिज म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वर र रघुगंगा गाउपालिका–३ राहुघाटको सिमानामा पर्छ । रघुगंगा, अन्नपूर्ण गाउपालिका र मुस्ताङ जिल्ला सिधा यातायात सम्पर्क बिच्छेद भएको छ ।

रघुगंगा–३ मा पर्ने राहुघाटका ३० घर विस्थापित भएका छन् । सो बस्ति कटाउनको उच्च जोखिममा परेको छ । पहिरो प्रभावित ठाउँमा सेना, शसस्त्र र नेपाल प्रहरीको टोली उद्धारमा परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताए । घाइतेहरुको उद्धार र वेपत्ताको खोजीका लागि हेलिकप्टर पठाउने तयारी भएको छ ।

बर्षा भैरहेको र बादल लागेको तथा ठाउँ ठाउँमा पहिरोले सडक अवरुद्ध भएकाले सुरक्षाकर्मीलाई घटनास्थलमा पुग्न कठिनाई भएको डिएसपी किरनजंग कुँवरले बताए । बिहिबार रातीदेखिको अबिरल बर्षासँगै माथिल्लो क्षेत्रमा पहिरो जाँदा रघुगंगा, म्याग्दी र कालीगण्डकी नदीमा बाढीको सतह बढेको छ । तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

म्याग्दी नदीले बगाएर ल्याएको दाउरा छोप्ने क्रममा खोलामा पसेका बेनी नगरपालिका–४ सिंगा तातोपानीका दुई जनालाई उद्धार गरिएको छ । भू–तथा जलाधार संरक्षण कार्यालय सम्पर्क इकाई म्याग्दीका प्रमुख शम्भुकुमार मिश्रले सिमित ठाउँमा भएको अत्याधिक बर्षा, कमजोर भूगोल र अव्यवस्थित विकास गतिबिधिले पहिरोको जोखिम बढेको बताए ।