दुई जना कोरोना संक्रमित म्याग्दीमा थपिए

  • २४ असार २०७७, बुधबार
  • 977 पटक पढिएको

म्याग्दी २४ असार । म्याग्दीमा बुधबार दुई जना कोरोना संक्रमित थपिएका छन् । असार १८ र १९ गते परिक्षणका लागि पठाइएको स्वाब नमुनाको पिसिआर बिधिबाट पोखराको प्रयोगशालामा परिक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको हो ।


कुवेतबाट आएर म्याग्दी बहुमुखी क्याम्पसको क्वारेन्टिनमा बसेका मंगला गाउपालिका–२ का ३५ वर्षीय पुरुष र भारतबाट आएर न्यु वेष्ट पोइन्ट आवासीय माविको क्वारेन्टिनमा बसेका बेनी नगरपालिका–१ का ३३ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ ।

दुवै जना संक्रमितलाई रातीनै क्वारेन्टिनबाट खुल्ला मञ्चको आइसोलेशनमा सारिएको कोभिड–१९ जिल्ला संकट व्यवस्थापन केन्द्रका सदस्य सुरत केसीले जानकारी दिएका छन् ।
म्याग्दीबाट ४५१ जनाको स्वाब नमुना संकलन गरेर परिक्षणका लागि पठाइएकोमा ३८७ वटाको नतिजा आएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख एकनारायण लम्सालले जानकारी दिए । ३४ वटाको रिपोर्ट आउन बाँकी छ । म्याग्दीमा हालसम्म कोरोना संक्रमितको संख्या २१ जना पुगेको छ । १० जनाले कोरोना जितेर घर फर्किएका छन् । ११ जनाको बेनी स्थित खुल्लामञ्चको आइसोलेशनमा उपचार गरिरहेका छन् ।