म्याग्दीमा पाँच जनाले कोरोना जितेर घर फर्किए, तीन जना कोरना संक्रमित थपिए

  • २० असार २०७७, शनिबार
  • 1749 पटक पढिएको

 

म्याग्दी, २० असार । जिल्लामा पाँच जनाले कोरोना जिते घर फर्किएका छन् भने तीन जना नयाँ संक्रमित थपिएका छन् । बेनीको आइसोलेशनमा रहेका चार जना पुरुष र एक जना महिलाको दोस्रो पिसिआर नमुनाको नतिजा कोरोना नेगेटिभ आएको स्वास्थ्य कार्यालयले जनाएको छ । आइसोलेशनमा रहेका २ जना पुरुष र एक जना महिलाको दोस्रो पटक गरिएको नमुना परिक्षणको नतिजा पोजेटिभ आएको छ ।

कोरोनामुक्त भएका ५ जनालाई शनिबार घर पठाएको छ । म्याग्दीका ५ जनाले कोरोना जितिसकेका छन् । कोरोना संक्रमितको संख्या १९ जना पुगेको छ । नयाँ थपिएका संक्रमितहरु विदेशबाट आएर म्याग्दी बहुमुखी क्याम्पस र न्यु वेष्ट पोइन्ट आवासीय माविको क्वारेन्टिनमा बसेकाहरु हुन् । उनिहरुलाई आइसोलेशनमा लगिएका स्वास्थ्य कार्यालयका प्रमुख एकनारायण लम्सालले जानकारी दिए ।

भारतबाट आएका मंगला गाउपालिका–१ कुहुका २४ वर्षीय पुरुष, साउदी अरबबाट आएका रघुगंगा गाउपालिका–२ का २७ र भारतबाट आएका ३ पिप्लेको ४७ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । उनिहरुको असार १४ गते पिसिआर बिधिबाट कोरोना परिक्षण गर्न नमुना संकलन गरेर पोखरा स्थित प्रयोगशालामा पठाइएको थियो । म्याग्दीबाट हालसम्म ४१२ वटा नमुना संकलन गरि पिसिआर जाँच गर्न पठाइएकोमा ३२४ वटाको नतिजा आएको छ ।