प्रचण्डले ओलीलाई भने– प्रधानमन्त्रीको राजीनामा दिल्लीले होइन, मैले मागेको हो

  • १६ असार २०७७, मंगलवार
  • 1240 पटक पढिएको

 

काठमाडौं । नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच बालुवाटार बैठकमा भनाभन भएको छ। नेकपाको जारी स्थायी समितिको चौथो दिनको बैठकमा गत आइतबार ओलीले दिएको अभिव्यक्तिलाई लिएर ओली र प्रचण्डबीच भनाभन भएको हो ।


बैठकमा सहभागी एक नेताका अनुसार ओलीले मदन जयन्तीको कार्यक्रममा भारतविरुद्ध अभिव्यक्ति दिएर गल्ती गरेको टिप्पणी प्रचण्डले गरेका थिए । यस्तै ओलीबाट आएको यस्तो अभिव्यक्तिले पार्टीको प्रतिष्ठा गिर्नुका साथै भारतसँग जुधेर अन्तर्राष्ट्रिय सम्बन्ध सन्तुलित बनाउन नसकिने समेत प्रचण्डले बताएका थिए ।‘मदन जयन्तीको कार्यक्रममा भारतविरुद्ध अभिव्यक्ति दिएर तपाईंले पार्टीको प्रतिष्ठा गिराउनु भयो । भारतसँग त्यसरी जुधेर अन्तर्राष्ट्रिय सम्बन्ध सन्तुलित बनाउन सकिँदैन’, बैठकमा प्रचण्डले भनेका थिए ।

जवाफमा प्रधानमन्त्रीले बैठकमा भएको कुरा दिल्लीको मिडियामा कसरी हुबहु आयो भन्दै उल्टै प्रतिप्रश्न गरेका थिए । ‘हाम्रो बैठकमा भएका कुरा र दिल्लीका मिडियामा आएका कुरा कसरी हुबहु मिले ? यसबारे पनि गम्भीर छलफल हुनुपर्छ’, जंगिँदै बैठकमा ओलीले प्रतिप्रश्न गरेका थिए । त्यसपछि प्रचण्डले पनि भारतले नभइ आफूले प्रधानमन्त्री र अध्यक्ष पद छाड्न भनेको भन्दै ओलीप्रति खनिएका थिए ।