रघुगंगा गाउँपालिकाले सलह किरा ल्याउनेलाई नगद पुरस्कार दिने

  • १५ असार २०७७, सोमबार
  • 1277 पटक पढिएको

म्याग्दी, १५ असार । भारत हुँदै नेपाल पसेको सलह किरा नियन्त्रण गर्न म्याग्दीको रघुगंगा गाउँपालिकाले सूचना जारी गदै सलह किरा मार्नेलाई नगद पुरस्कार दिने निर्णय सार्वजनिक गरेको छ । किसानको बाली जोगाउन सलह किरा टिपेर ल्याउने पुरस्कार स्वरुप प्रतिकिलो रु १५ दिने निर्णय गरेको हो ।


गण्डकी प्रदेशभित्रका विभिन्न जिल्लामा सलह देखिएपछि म्याग्दीमा समेत भित्रिने जोखिमलाई मध्यनजर गदै गाउँपालिकाले हरेक वडाभित्रका किसानलाई आवश्यक सर्तकता अपनाउन सूचना जारी गरिएको प्रमुख प्रशासकीय अधिकृत अमृत सुबेदीले बताए । ‘सलह किरा भित्रिनुपुर्व नै नियन्त्रण गर्न आवश्यक तयारीमा जुटेका छौ,‘सलह किरा मार्ने किसानलाई पैसा दिने निर्णय गरेका छौ’ गाउँपालिका अध्यक्ष भव बहादुर भण्डारीले भने ।


उनले खेती जोगाउनका लागि आगो बाल्नुका साथै थाल ठटाएर सलह धपाउन आवश्यक तयारी गर्ने समेत वडालाई निर्देशन दिएको बताए । कृषि ज्ञान केन्द्रसँग समेत सहकार्य गरी गाउँपालिकाले स्थानीय विधिको प्रयोग गर्ने जनाएको छ । सलह किराको सम्भाव्य जोखिम र त्यसको व्यवस्थापनका बारेमा छलफल गरिएको छ ।  सलह किराको क्षतिको न्युनिकरण गर्न प्राकृतिक विधि अपनाउन किसानलाई आग्रह गरेको गाउँपालिकाले जनाएको छ ।