सुरक्षा मापदण्ड कार्यान्वयन गर्न प्रहरीद्धारा बेनीबजार अनुगमन

  • १५ असार २०७७, सोमबार
  • 940 पटक पढिएको

म्याग्दी, १५ असार । लकडाउन (बन्दाबन्दी) खुकुलो गर्ने नेपाल सरकारको निर्णयसँगै व्यापार व्यवसाय र व्यक्तिगत हिँडडुलबाट सम्भावित समुदायमा कोरोना संक्रमण फैलन सक्ने सम्भावनालाई न्यूनीकरण गर्नका लागि जिल्ला प्रहरी कार्यालय म्याग्दीले बजार अनुगमनलाई तिब्रता दिएको छ ।


प्रहरी नायव उपरीक्षक किरण जंग कुँवरको नेतृत्वमा प्रहरीबाट बेनीबजारका करिब ३५० वटा पसल, व्यवसाय र संघसंस्थाहरू बन्दाबन्दीलाई व्यवस्थापन गर्न गृह मन्त्रालयले ल्याएको सुरक्षा मापदण्ड कार्यान्वयन गराउन बजार अनुगमन गरि मापदण्ड कार्यान्वयन गर्न चेतावनी दिएका छन् ।


अनुगमनको क्रममा पसल तथा व्यवसायीहरूले हात धुने साबुन पानी, स्यानीटाईजरको व्यवस्था, सामाजिक दुरी कायम गर्ने, माक्सको अनिवार्य प्रयोग, भिडभाडलाई कम गर्ने तथा सवारी साधनहरूले जोर बिजोर प्रणाली पालना गरेको वा नगरेको, ग्राहक तथा सार्वजनिक स्थानमा हिँडडुल गर्ने सर्वसाधारणहरूले सामाजिक दुरी कायम गरे नगरेको तथा माक्सको अनिवार्य प्रयोग गरे वा नगरेको अवस्थाबारे अनुगमन गरिएको थियो ।

बन्दाबन्दीको कार्यान्वयनमा गरिएको अनुगमनको क्रममा हालसम्म सुरक्षा मापदण्ड कार्यान्वयन नगर्ने ६१ वटा सवारी साधनलाई नियन्त्रणमा लिई कारबाही गरेको थियो । कारवाहीबाट गरी ५० हजार रुपैयाँ राजश्व संकलन भएको प्रहरी निरिक्षक धुव्र शर्माले जानकारी दिए ।