धवलागिरीको आठौँ गाउँसभामा प्रस्तुत नीति, तथा कार्यक्रम पारित, साढे ४२ करोड बजेट (तस्बिर सहित)

  • १० असार २०७७, बुधबार
  • 1159 पटक पढिएको

म्याग्दी १० असार । म्याग्दीको धवलागिरी गाउँपालिकाले साढे ४२ करोड बढीको बजेट पारित गरेको छ । मंगलवार गाउँपालिकाको केन्द्र मुनामा बसेको आठौँँ गाउँसभाले आर्थिक बर्ष २०७७÷०७८ को लागि रु ४२ करोड ५१ लाख ८२ हजार ५८० बराबरको बजेट पारित गरेको हो । गाउँसभामा उपाध्यक्ष रेशम छन्त्यालद्धारा प्रस्तुत बजेटलाई गाउँसभाले पारित गरेको हो । कुल बजेटको २९ करोड ८६ लाख ३० हजार चालुतर्फ र १२ करोड ६५ लाख ५२ हजार ५८० पुँजीगततर्फ विनियोजन गरिएको छ । सामाजिक सुरक्षा भत्ता बापतको ६ करोड ९४ लाख ५० हजार अनुमान गरिएको छ ।

कुल बजेटमा नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान रु ७ करोड ४९ लाख, संघिय विभाज्य कोषबाट प्राप्त हुने राजश्व बाँडफाँड रु ८ करोड २१ लाख ६३ हजार ५ सय ८०, सशर्त अनुदान रु १६ करोड ९३ लाख, प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान रु १ करोड २२ लाख ३३ हजार, प्रदेश राजश्व बाँडफाँट रु २१ लाख ३६ हजार , आन्तरिक राजश्वबाट प्राप्त हुने रु २६ लाख र विशेष र समपुरक अनुदान अन्र्तगत रु १ करोड ५० लाख समावेश गरिएको छ ।

गाउँसभामा अध्यक्ष थमसरा पुनद्धारा प्रस्तुत आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम, वडा नम्बर १ का अध्यक्ष झकबहादुर छन्त्यालद्धारा प्रस्तुत विनियोजन र कार्यपालिका सदसय देउप्रसाद छन्त्यालद्धारा प्रस्तुत आर्थिक विद्येयक समेत संशोधन सहित पारिद भएको छ ।

गाउँपालिकाले बजेटमा कोरोना नियन्त्रण र रोकथाम संगै सडक लगायतका पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, पशुपालन, पर्यटन लगायतको क्षेत्रलाई प्राथमिकताका साथ समावेश गरिएको छ । गाउँपालिकाले ‘धवलागिरी गाउँपालिकाको आधार, कृषि, पर्यटन, जलस्रोत र भौतिक पूर्वाधार’ भन्ने नारालाई अघि सारेको छ ।सभालाई गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत गोपाल प्रसाद शर्माले सहजीकरण गर्नुभएको थियो । नयाँ आर्थिक बर्षको बजेट तथा कार्यक्रमलाई प्रभाबकारी कार्यान्वयनको लागि सुरुवातदेखि नै जुट्नुपर्नेमा गाउँसभा सदस्यहरुले जोड दिएका थिए ।