अन्नपूर्णको ११ औँ गाउँसभा : करिब ४१ करोडको बजेट पारित, कोरोना रोकथाम र नियन्त्रण प्राथमिकतामा

  • ७ असार २०७७, आईतवार
  • 1289 पटक पढिएको

म्याग्दी ७ असार । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले करिब रु ४१ करोडको बजेट पारित गरेको छ । आईतवार गाउँपालिकाको केन्द्र पोखरेबगरमा बसेको ११ औँ गाउँसभाले आर्थिक बर्ष २०७७/०७८ को लागि रु ४० करोड ९४ लाख २६ हजार बराबरको बजेट पारित गरेको हो ।

गाउँपालिका अध्यक्ष क्याप्टेन डमबहादुर पुनको अध्यक्षतामा बसेको गाउँसभामा उपाध्यक्ष केशमायाँ मगरले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम र बजेट बक्तव्य सर्वसम्मत रुपमा पारित भएको हो । गाउँसभामा उपाध्यक्ष मगरद्धारा प्रस्तुत बजेट बक्तब्यमा चालुतर्फ रु ७ करोड १६ लाख २० हजार, पुजीगत तर्फ १३ करोड ३६ लाख ६ हजार र शर्शत अनुदान तर्फ रु २० करोड ४२ लाख रकम विनियोजन गरिएको छ ।

पारित भएको बजेटमा संघिय सरकारबाट प्राप्त हुने वित्तिय समानीकरण अनुदान रु ७ करोड ४३ लाख , संघिय सरकारबाट प्राप्त हुने राजस्व वाँडफाँट रु ६ करोड ९७ लाख ५४ हजार १ सय ५४, शर्शत अनुदान रु २० करोड ४२ लाख, गण्डकी प्रदेश सरकारबाट प्राप्त हुने वित्तिय समानिकरण अनुदान रु १ करोड २१ लाख ४१ हजार, राजस्व बाँडफाडबाट प्राप्त हुने रकम रु ३५ लाख ९२ हजार, आन्तरिक राजस्वबाट प्राप्त हुने रकम रु ६८ लाख ४० हजार र अल्या तर्फको अनुमानित रकम रु ३ करोड ८५ लाख ९८ हजार ८ सय ४६ रकमलाई समावेश गरिएको छ ।
कोरोना नियन्त्रण पहिलो प्राथमिकतामा
अन्नपूर्ण गाउँपालिकाले पारित गरेको नीति तथा कार्यक्रम र बजेटमा विश्वव्यापी महारीको रुपमा फैलिएको कोरोना भाइरस रोकथाम र नियन्त्रणको लागि प्राथमिकता दिईएको छ । गाउँसभामा उपाध्यक्ष मगरद्धारा प्रस्तुत नीति तथा कार्यक्रम र बजेटमा कोरोना रोकथाम र नियन्त्रणको लागि उच्च प्राथमिकता दिईएको हो ।
गाउँपालिकाले कोरोना रोकथाम र नियन्त्रणको लागि आगामी आर्थिक बर्षको लागि रु १ करोड ४० लाख बजेट विनियोजन गरेको हो । चालु आर्थिक बर्षमा समेत कोरोना कोषमा रहेको रकम सबै खर्च नहुने भएकाले बाँकी बजेटलाई समेत कोरोना रोकथाम र नियन्त्रणमै थप गरि परिचालन गर्ने गरि बजेट विनियोजन भएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नविन सुवेदीले जानकारी दिनुभयो ।


उहाँले स्वास्थ्य, कृषि, पशुपालन, पूर्वाधार निर्माण लगायतको क्षेत्रलाई पहिलो प्राथमिकता दिएर नीति तथा कार्यक्रम र बजेट निर्माण भएको बताउनुभयो । त्यसैगरि सडक पूर्वाधारतर्फ रु १ करोड ६७ लाख, खानेपानी मर्मतको लागि रु २० लाख, गाउँपालिकाको ट्रस भवन निर्माण कार्यको लागि रु २५ लाख, कृषि क्षेत्रको लागि रु ४० लाख, पशु सेवा विकासको लाग रु ३० लाख , खेलमैदानतर्फ रु ४७ लाख, संंस्कृति तर्फ रु २९ लाख बजेट विनियोजन गरिएको छ ।
योजनाको प्रभाबकारी कार्यान्वयनमा जुटौँः गाउँपालिका अध्यक्ष पुन
गाउँसभाको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष क्याप्टेन डमबहादुर पुनले कोरोना संकटले गर्दा चालु आर्थिक बर्षमा पूर्वाधार निर्माणतर्फ निर्माण भएका सबै योजनाले पूर्णता पाउन नसकेको भन्दै आगामी आर्थिक बर्षमा ती नियोजनाहरुलाई प्राथमिकता दिएर बजेट निर्माण गरिएको बताउनुभयो ।

उहाँले आगामी आर्थिक बर्षदेखि योजना कार्यान्वयनको लागि साउनदेखि नै योजनाको सम्झौता लगायतका प्रकृया सुरु गर्ने तयारी गरिएको बताउनुभयो । गाउँसभामा सहभागी गाउँसभा सदस्यहरुले गाउँपालिकाले ल्याएको नीति तथा कार्यक्रम र बजेट स्वागतयोग्य रहेको बताउँदै प्रभाबकारी कार्यान्वयनको लागि कर्मचारी र पालिकाको नेतृत्वले रचनात्मक भुमिका खेल्नुपर्नेमा जोड दिएका थिए ।