बुधवार अहिलेसम्मकै धेरै ५८६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या सात हजार नाघ्यो

  • ३ असार २०७७, बुधबार
  • 1090 पटक पढिएको

काठमाडौं ३ असार । बुधवार नेपालमा अहिलेसम्मकै धेरै कोरोना संक्रमित पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा नेपालमा थप ५८६ कोरोना संक्रमित भेटिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बुधबारको नियमित प्रेस ब्रिफिङमा संक्रमितको कूल संख्या सात हजार १७७ जना पुगेको जानकारी दिए । उनका अनुसार, हालसम्म एकहजार १६७ जना कोरोनाको उपचार गरेर घर फर्किएका छन् ।

यसैबिच नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या २० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाँके बैजनाथ—६ की ४६ वर्षिया महिलाको कोरोनाका कारण मृत्यु भएको हो । मृगौला सम्बन्धि समस्याका कारण जेट ३० गते नेपालगञ्ज मेडकल कलेज शिक्षण अस्पतालमा भर्ना भएकी ती महिलाको असार १ गते साँझ मृत्यु भएको थियो ।

१ गते नै कोरोना परीक्षणका लागि उनको स्वाव संकलन गरिएपनि २ गते मात्रै रिपोर्ट आएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । मुलुकभर अहिलेस्म्म पीसीआर विधिबाट १ लाख ४९ हजार ७ सय ७२ र पछिल्लो २४ घण्टामा ६ हजार ३७ जनाको कोरोना परीक्षण भएको छ ।  अहिले देशभरीका क्वारेन्टाइनमा १ लाख २५ हजार ७ सय ९८ जना रहेका छन् । ५ हजार ९ सय ९० जना विभिन्न अस्पतालका आइसोलेनमा उपचाररत रहेका छन् । बुधबारसम्म १ हजार १ सय ६७ कोरोना संक्रमित उपचारपछि निको भएर डिस्चार्ज भएका छन् ।