गण्डकी प्रदेश सरकारले घोरेपानीमा गुराँस पार्क बनाउने

  • १ असार २०७७, सोमबार
  • 2152 पटक पढिएको

म्याग्दी १ असार । म्याग्दीको प्रमुख पर्यटकीय स्थल घोरेपानी क्षेत्रमा गुराँस पार्क बनाईने भएको छ । अन्नपूर्ण चक्रिय पदमार्गले समेटिएको अन्नपूर्ण गाउँपालिका –६ मा अवस्थित घोरेपानीमा गुराँसको संरक्षण र पर्यटन प्रवद्र्धनका लागि गुराँस पार्क बनाउन लागिएको हो । गण्डकी प्रदेश सरकारले सोमबार सार्वजनिक गरेको बजेटमा घोरेपानीमा गुराँस पार्क बनाउन आबश्यक बजेट विनियोजन गरेको जनाईएको छ ।

 

 

 

 

 

 

 

 

घोरेपानीको गुराँसे जंगल । फाइल तस्बिर : म्याग्दीअनलाइन डटकम

प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले आर्थिक बर्ष २०७७/०७८ को बजेट सार्वजनिक गर्दै घोरेपानीमा गुराँस पार्क, पञ्चासेमा सुनाखरी पार्क, पोखरामा विश्व शान्ति जैविक विविधता उद्यान, भिमादमा वनस्पति तथा पन्छी उद्यानको लागि बजेटको व्यवस्था गरिएको जानकारी दिनुभयो ।

घोरेपानी क्षेत्रमा रहेको गुराँसे जंगललाई विश्वकै ठुलो गुराँसे जंगलको रुपमा समेत चिनिने गरेको छ । पुनहिल, घोरेपानी, मोहरे, खोप्रा, घान्द्रुक क्षेत्रमा विशाल गुराँसे जंगल रहेको छ । यस क्षेत्रमा ९ थरीका गुराँसका फुल पाईने गरेको छ । गुराँसे जंगलको संरक्षण र पर्यटन प्रवद्र्धनका लागि गुराँस पार्कले थप सहयोग पुग्ने अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष क्याप्टेन डमबहादुर पुनले बताउनुभयो ।

उहाँले हिमाल र सुर्योदयको अवलोकनका लागि प्रख्यात रहेको यस क्षेत्र गुराँसे जंगलको कारण पनि थप चर्चामा रहेको बताउँदै यस क्षेत्रमा रहेका गुराँसको संरक्षणमा समेत यस कार्यले सघाउने विश्वास व्यक्त गर्नुभयो । यसैबिच प्रदेश सरकारले धौलागिरी क्षेत्रलाई संरक्षण क्षेत्र घोषणा गर्न सम्भाब्यता अध्ययन र पूर्व तयारीको कार्य प्रारम्भ समेत गर्ने बजेटमा उल्लेख गरेको छ ।