क्वारेन्टाइन लैजाँदा भिरबाट हामफालेका युवाकाे मृत्यु

  • १ असार २०७७, सोमबार
  • 1293 पटक पढिएको

बाग्लुङ  १ असार ।   क्वारेन्टाइनमा लैजाँदै गर्दा कुश्मा नगरपालिका– ८ मा पर्ने चुवाको भिरबाट हामफालेर आत्महत्याको प्रयास गरेका एक युवाको मृत्यु भएको छ । भिरबाट हामफालेर गम्भीर घाइते भएका बाग्लुङ नगरपालिका– १३ का ३९ वर्षका चन्द्रबहादुर नेपालीको मृत्यु भएको हो । भिरबाट हामफालेका उनलाई उपचारका लागि पोखरास्थित गण्डकी क्षेत्रीय अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो । उनी सोमबार बिहान पोखरा–बाग्लुङ सडकमा बस रोकेको अवस्थामा भिरबाट हामफालेका थिए ।

 

जिल्ला प्रहरी कार्यालय पर्वतले दिएको जानकारीअनुसार सुनौलीबाट उद्धार गरी बाग्लुङतर्फ जाने क्रममा बस रोकेको मौका पारी भिरबाट हामफालेर गम्भीर घाइते भएका नेपालीलाई उपचारका लागि पोखरा लैजाँदै गर्दा बाटैमा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिए ।  लु २ख ४२२० नम्बरको बसमा पर्वत, बाग्लुङ र म्याग्दीका नागरिकहरू भारतबाट फर्केपछि क्वारेन्टाइनमा बस्न जाँदै थिए ।

पर्वतका नागरिकलाई मोदी गाउँपालिकाको डिमुवामा झारेपछि बस बाग्लुङ र म्याग्दीका नागरिक बोकेर आएको थियो । वर्षाका कारण सडकको अवस्थाका बिग्रिएपछि बस अगाडि जान नसक्ने भनेर बसचालकले बस रोकेको मौकामा नेपाली भने भिरबाट हामफालेका थिए ।