चितुवाको आक्रमणबाट पशुधनमा क्षति व्यहोरेका कृषकलाई रु ४ लाख ४२ हजार राहत

  • २९ जेष्ठ २०७७, बिहीबार
  • 1979 पटक पढिएको

कमल खत्री

म्याग्दी २८ जेठ । म्याग्दीमा चितुवाको आक्रमणबाट पशुधनको क्षति व्यहोरेका कृषकहरुले पहिलो पटक राहत पाएका छन् । डिभिजन वन कार्यालय म्याग्दीले यस बर्ष जिल्लाको विभिन्न स्थानमा खोरमै आएर चितुवाले पशुधनमा पु¥याएको क्षतिको विवरण संकलन गरि ढोरपाटन शिकार आरक्ष मार्फत राहत दिलाएको हो ।


गत साउनदेखि जेठ २० गतेसम्म जिल्लाका १२ जना कृषकहरुको १ चौरी, ३६ वटा बाख्रा र ६ वटा भेडा गरि ४३ वटा पशुधनमा चितुवाले घर र खोरमै आएर मारेकाले उनीहरुको लागि सम्बन्धित निकायमा पहल गरि राहत उपलब्ध गराउन लागिएको निमित्त कार्यालय प्रमुख सन्तोष खनालले जानकारी दिनुभयो । उहाँका अनुसार १२ जना कृषकहरुको लागि ढोरपाटन शिकार आरक्ष मार्फत रु ४ लाख ४२ हजार ५ सय राहत रकम प्राप्त भएकाले उनीहरुलाई वितरण गर्ने तयारी गरिएको छ ।

‘‘ जंगली जनावरले खोरमै आएर पशुधनको क्षति बनाएमा उनीहरुलाई राहतमा सहजीकरण गर्नु हाम्रो दायित्व हो, जिल्लामा अहिलेसम्म कसैले पनि पशुधनको राहत नपाएको अबस्था रहेछ, कृषकहरुलाइ परेको क्षतिको संवन्धित कार्यालय मार्फत राहत दिने व्यबस्था हुन्छ’’– खनालले भन्नुभयो । भेडाबाख्रालाई प्रतिगोटा अधिकतम १० हजार र चौरीलाई ३० हजारको दरले राहत प्राप्त भएको छ ।  उहाँका अनुसार, चरनको लागि खोर र घर बाहिर लगेको समयमा जंगली जनावरको आक्रमणबाट पशुधनमा क्षति भएमा भने राहत नपाउने ब्यबस्था रहेको छ ।

चितुवाको आक्रमणबाट पशुधनमा हुने क्षतिको राहत दिने कार्यलाई निरन्तरता दिन सकेमा मानविय कारणबाट चितुवा लगायतका जनावरहरुमाथि हुने आक्रमण समेत रोक्न र चितुवाको संरक्षणमा समेत सहयोग पुग्ने खनालको भनाई छ । पछिल्लो समय बनमा वासस्थानको ब्यबवस्थापन नहुँदा र प्रमुख आहाराको रुपमा चिनिने रतुवा घोरल लगायतका जनावरहरुको संरक्षण नहुदा चितुवा लगायतका जनावर वस्तीतर्फ आउने गरेको पाईएको छ ।