म्याग्दीका बैँक तथा वित्तिय संस्था विहिवारदेखि नियमित संचालन हुने

  • २८ जेष्ठ २०७७, बुधबार
  • 1279 पटक पढिएको

म्याग्दी २८ जेठ । कोरोना भाइरस नियन्त्रण र रोकथामको लागि जारी बन्दाबन्दी(लकडाउन)को समयमा समयतालिका अनुसार सञ्चालन हुँदै आएका म्याग्दीका बैँक तथा वित्तिय संस्थाहरु विहिवारदेखि नियमित रुपमा सञ्चालनमा आउने भएका छन् । आर्थिक बर्षको अन्तिम चौमासिकको भुक्तानी र सेवाग्राहीको चापलाई मध्यनजर गर्दै विहान ११ बजेदेखि ३ बजेसम्म नियमित सेवा प्रवाह गर्न आह्वान गरिएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी महेश सुवेदीले जानकारी दिनुभयो ।

चैत ११ गतेदेखि जारी लकडाउनको सुरुवातमा सबै बैँक तथा वित्तिय संस्थाहरुलाई पूर्ण रुपमा बन्द गरिएको थियो । बिगत करिब एक महिनायता बैँक तथा वित्तिय संस्थाहरुलाई हप्तामा एक र दुई दिन गरि समय तालिका दिएर सेवा सूचारु गराउँदै आईएको थियो । भिडभाड हुने र कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै समयतालिका अनुसार सेवा प्रवाह गराउँदै आएका बैँक तथा विक्तिय संस्थाहरुले विहिवारदेखि भने नियमित रुपमै सेवा प्रवाह गर्न पाउने भएका हुन् ।

जिल्ला प्रशासन कार्यालयले सेवा प्रवाह गर्दा सेवाग्राहीहरुबिचमा ३ फिटको भौतिक दुरी कायम गर्ने, सावुन पानीले हात धुने र स्यानिटाइजरको प्रयोग लगायतको स्वास्थ्य सावधानी अपनाएर मात्रै सेवा दिन आग्रह गरेको छ । त्यसैगरि सेवा प्रदायक र सेवाग्राही दुबैले अनिबार्य रुपमा मास्कको प्रयोग गर्ने, सेवाग्राहीको दैनिक विवरण राख्ने लगायतका सर्तहरुको पालना गरेर सेवा सूचारु गराउन निर्देशन दिईएको सहायक प्रजिअ सुवेदीले बताउनुभयो ।