म्याग्दीमा थप एक जनामा कोरोना संक्रमण , संक्रमितको संख्या तीन पुग्यो

  • २७ जेष्ठ २०७७, मंगलवार
  • 1096 पटक पढिएको

म्याग्दी २७ जेठ । म्याग्दीमा थप एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भारतबाट आएर बेनीको म्याग्दी बहुमुखी क्याम्पसको क्वारेनटाइनमा रहनुभएका बेनी नगरपालिका– ३ का ४९ बर्षिय पुरुषको पोखराको स्वास्थ्य बिज्ञान प्रयोगशालामा गरिएको स्वाब पीसीआर परीक्षणमा कोरोना पोजेटिभ देखिएको हो ।


गत जेठ १६ गते नेपाल–भारत सिमानाकाबाट आएर क्वारेनटाइन बस्नुभएका उहाँमा कोरोना संक्रमण पुष्टि भएसंगै आइसोलेसनमा लैजाने तयारी गरिएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले जानकारी दिनुभयो । यस अघि म्याग्दीको मालिका गाउँपालिका ४ का ३० बर्षिय युवा र मंगला गाउँपालिका– ४ का १९ बर्षिय युवामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

म्याग्दीमा अहिलेसम्म कोरोना संक्रमितको सख्ंया ३ पुगेको छ । कोरोना संक्रमित तीनै जनाको स्वास्थ्य अबस्था सामान्य रहेको छ । जिल्लाबाट अहिलेसम्म १९४ जनाको स्वाब संकलन गरि पीसीआर परिक्षण गर्न पठाईएकोमा अझै १५ जनाको रिपोर्ट आउँन बाँकी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । यसैबिच गण्डकी प्रदेशमा मंगलवार विहान थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नवलपरासी पुर्वमा १२ जना, बागलुङमा ११ जना, म्याग्दीमा १ जनामा थप कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डाक्टर विनोद विन्दु शर्माले जानकारी दिनुभयो । गण्डकी प्रदेशमा अहिलेसम्म १४४ जनामा कोरोना संक्रमण देखिएकोमा एक जनाको मृत्यु समेत भएको छ ।