डेङ्गुबारे सचेतनासंगै संगै विपन्नलाई झुल वितरण

  • २२ जेष्ठ २०७७, बिहीबार
  • 2710 पटक पढिएको

म्याग्दी २२ जेठ । म्याग्दीमा डेङ्गुको संक्रमण देखिन थालेपछि युवाहरुले सचेतना संगै विपन्नलाई झुल वितरण गर्न थालेका छन् । म्याग्देली युवा आवाज फेसबुक समुह र नेपाल युवा परिषद म्याग्दीले जिल्लाको बेनी नगरपालिका र मंगला गाउँपालिकाको विभिन्न क्षेत्रमा डेङ्गु रोगको बारेमा सचेतना र विपन्न परिवारलाई झुल वितरण सुरु गरेका हुन् ।


विहिवार बेनी नगरपालिकाको वडा नम्बर ५, ६ र ९ का विभिन्न बस्तीमा पुगेर विपन्न परिवारमा झुल वितरण गरिएको अभियन्ता नविन खत्रीले बताउनुभयो । उहाँका अनुसार, मंगलाको वडा नम्बर ३ र ४ बरंजा र वडा नम्बर ६ अर्मन क्षेत्रमा समेत पुगेर झुल वितरण गर्ने तयारी गरिएको छ ।


‘‘ विपन्न परिवारमा परिवारसंख्याको आधारमा एकदेखि दुई वटासम्म झुल दिएका छौँ, हामीले दिएकोले मात्रै प्रयाप्त छैन, त्यसैले उहाँहरुलाई पनि लामखुट्टेबाट जोगिनको लागि झुलको प्रयोग गर्न र वरपरको सरसफाईमा ध्यान दिन आग्रह गरेका छौँ’’– अभियानका सदस्य रवि कार्कीले भन्नुभयो ।

म्याग्दीमा वैशाख र जेठ महिनामा मात्रै ११ जनामा डेङ्गुको संक्रमण पुष्टि भएको छ । लामखुट्टको टोकाइबाट सर्ने यसरोगबाट बच्नको लागि र आबश्यक जनचेतना फैलाउनको लागि अभियान सञ्चालन गरिएको परिषदका जिल्ला अध्यक्ष छवि आचार्यले जानकारी दिनुभयो । वैदेशिक रोजगारिमा रहेका समुहका सदस्यहरुको आर्थिक ब्यबस्थापनमा समुह र परिषदका सदस्यहरुले झुल वितरण थालेका हुन् ।

अभियन्ता नविन खत्री, परिषदका अध्यक्ष आचार्य, रवि कार्की, जगत गैरे लगायतको टोलीले वडाका जनप्रतिनिधिहरुको समेत समन्वयमा झुल वितरण संगै मास्क वितरणलाई अघि बढाएका छन् ।