म्याग्दीमा थप एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, गण्डकीमा एकैदिन थपिए १६ जना

  • २२ जेष्ठ २०७७, बिहीबार
  • 1708 पटक पढिएको

कमल खत्री
म्याग्दी  २२ जेठ । म्याग्दीमा थप एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भारतबाट आएका म्याग्दीको मंगला गाउँपालिका – ४ का १९ बर्षिय युवाको पोखराको स्वास्थ्य बिज्ञान प्रयोगशालामा गरिएको स्वाब पीसीआर परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले म्याग्दीले जनाएको छ । बेनीको क्वारेनटाइनमा रहेका युवालाई कोरोना पोजेटिभ देखिएसंगै खल्लामञ्चको तालिम केन्द्रमा सञ्चालित आइसोलेसनमा लैजाने तयारी गरिएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले जानकारी दिनुभयो ।

यस अघि म्याग्दीमा गत जेठ ९ गते भारतबाट सुनौली नाका भएर आएका मालिका गाउँपालिका–४ का ३० बर्षिय युवामा कोरोना भाइरसको संक्रमण पुष्टि भएका थियो । नयाँ संक्रमित संगै जिल्लामा कोरोना संक्रमितको सख्ंया २ पुगेको छ । म्याग्दीमा भारतबाट आएकाहरुलाई बेनीको वेष्ट प्वाइन्ट र म्याग्दी बहुमुखी क्याम्पसको क्वारेनटाइनमा राखिएको छ । भारतबाट आएका सहित अहिलेसम्म जिल्लाबाट १५८ जनाको स्वाब नमुना संकलन भएको मध्ये १३० जनाको परिक्षण रिपोर्ट आएको छ जस्मा दुई जनामा संक्रमण पुष्टि भएको छ भने २८ जनाको रिपोर्ट आउन बाँकी रहेको छ ।

पीसीआर रिपोर्ट नेगेटिभ आएकाहरुलाई स्थानीय तहमा रहेका क्वारेनटाइनमा राख्न थालिएको छ । म्याग्दीसंगै विहिवार विहान सार्वजनिक रिपोर्ट अनुसार, गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना पुष्टि भएको छ । कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता तथा स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर विनोद विन्दु शमाले जारी गरेको विज्ञप्ती अनुसार, गण्डकी प्रदेशमा अहिलेसम्म कुल ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

थपिएका संक्रमितहरुमा बागलुङको निसीखोला गाउँपालिकाका ३ जना, बडीगाड गाउँपालिकाका ४ जना र गल्कोट नगरपालिकाका ३ जना रहेका छन् । त्यस्तै स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका एक जना, म्याग्दीको मंगला गाउँपालिकाका एक जना तथा पर्वतको बिहादी गाउँपालिकाका २ जना र फलेबास नगरपालिकाका २ जना रहेका छन् ।