क्वारेनटाइनको सुरक्षा र ब्यबस्थापन ? (भिडियो रिपोर्ट सहित)

  • २१ जेष्ठ २०७७, बुधबार
  • 1404 पटक पढिएको

कमल खत्री /सन्दीप शर्मा
म्याग्दी २१ जेठ ।  म्याग्दीमा क्वारेनटाइनको सुरक्षा र ब्यबस्थापनमाथि प्रश्न उठेको छ । मंगलवार मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजार स्थित छ्यारछ्यारेमा रहेको क्वारेनटाइनमा बसेका एक युवा क्वारेन्टाइन नजीकै रहेको म्याग्दीखोलामा पौडी खेल्दा वेपत्ता भएसंगै क्वारेनटाइनको सुरक्षा र ब्यबस्थापनमा लापरबाही भएको तथ्य बाहिरिएको हो ।

भारतबाट आएर बेनीको क्वारेनटाइनमा पीसीआर परिक्षण गर्दा नेगेटीभ आएपछि १८ जनालाई मालिका गाउँपालिका मार्फत सञ्चालित उक्त क्वारेनटाइनमा सारिएको थियो । मंगलवार दिउँसो क्वारेनटाइन छेवैमा रहेको नदीमा पौडी खेल्ने क्रममा धवलागिरी गाउँपालिका–७ धारापानीका १९ बर्षिय युवा राजेश थापा नदीले बगाएर वेपत्ता भएका हुन् । क्वारेनटाइनमा उनी संगै रहेका केहि युवाहरु नुहाउने बाहनामा खोलामा पुगेका थिए । खोलामा पौडी खेल्दै गर्दा थापालाई नदीले बगाएर वेपत्ता भएको इलाका प्रहरी कार्यालय दरबाङको भनाई छ ।

 

क्वारेनटाइनमा रहेका युवा खोलामा वेपत्ता हुनुले क्वारेनटाइनको फितलो ब्यबस्थापन र कमजोर सुरक्षा बन्दोबस्त प्रमुख कारण रहेको भन्दै चौतर्फि आलोचना भएको छ । छ्यारछ्यारे स्थित जनप्रिय माविको उक्त भवन क्वारेनटाइन सञ्चालनको लागि उपयुक्त नरहेको र व्यवस्थापकीय तथा सुरक्षाको लागि डिउटीमा खटिएका सुरक्षाकर्मीको समेत कमजोरी घटना हुनुको प्रमुख कारण देखिएको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताए ।

‘‘हामीले यहाँको क्वारेनटाइन स्थल उपयुक्त छैन, यहाँबाट सुरक्षित स्थानमा सारौँ भन्ने आग्रह पहिलेनै गरेका थियौँ, प्रयाप्त साबधानी अपनाउन नसक्दा घटना हुन पुग्यो’’–उनले भने । छ्यारछ्यारेको क्वारेनटाइनस्थलको सुरक्षामा ब्यबस्थित घेराबार नहुनु, पानीको प्रयाप्तता नहुनु, बेडको लागि समेत सामाजिक दुरीलाई कायम नहुनु जस्ता कमजोरी भेटिएको थियो । मापदण्ड नै पुरा नभइकन क्वारेनटाइन सञ्चालन गर्दा उचित सुविधा र सुरक्षाको प्रत्याभूति पाउन नसकेको क्वारेनटाइनमा रहेकाहरुको भनाई छ ।

यता इलाका प्रहरी कार्यालय दरबाङका निमित्त इन्चार्ज बलराम पौडेलले डिउटीमा खटिएका प्रहरीलाई झुक्याएर पौडी खेल्दा घटना हुन पुगेको दावि गरेका छन् । घटनाका प्रत्येक्षदर्शी स्थानीयबासीको अनुसार, क्वारेनटाइनमा बसेका केहि युवाहरु खोलामा पौडी खेलेका थिए । त्यसको केहि समयपछि नै एक युवालाई खोलाले बगाएको थियो । खोलामै चिप्लीएर बगाएको हुनसक्ने प्रत्यक्षदर्शी स्थानीयको भनाई छ । खोलाले बगाएर वेपत्ता भएका थापाको खोजीकार्य जारी रहेपनि बुधवार साँझसम्म उनको अबस्था पहिचान हुन सकेको छैन् ।
         छ्यारछ्यारेको क्वारेनटाइन नै सारियो
क्वारेनटाइन नै असुरक्षित बनेपछि छ्यारछ्यारेको क्वारेनलाइनलाई जनप्रिय माविको मुख्य भवनमा सारिएको छ । छ्यारछ्यारेमा रहेको भवनस्थल व्यबस्थित घेरावार नहुनु, नजीकै खोला हुनु जस्ता कारणले असुरक्षित भएपछि बजार परिसरमै रहेको विद्यालय भवनमा सारिएको प्रमुख जिल्ला अधिकारी ढकालले बताए । उनले क्वारेनटाइनमा बसेकाहरुलाई खोलामा जान दिने समयमा डिउटीमा खटिएका प्रहरीमाथि समेत आबश्यक कारबाहीको लागि अनुसंधान अघि बढाईएको जानकारी दिए ।

भारतबाट आएर बेनीमा पीसीआर रिपोर्ट नेगेटीभ आएपछि थापासंगै मालिका गाउँपालिकाका १७ जना समेत गरि १८ जनालाई दरबाङको क्वारेनटाइनमा पठाईएको थियो । म्याग्दीमा भारतबाट आएका १२६ जनालाई क्वारेनटाइनमा राखिएको छ । जिल्लामा भारतबाट आएका मालिका गाउँपालिका–४ का एक युवामा कोरोना संक्रमण पुष्टि भएपछि उनलाई आइसोलेसनमा राखेर उपचार गरिएको छ । उनको स्वास्थ्य अबस्था सामान्य रहेको बेनी अस्पतालले जनाएको छ ।
          सामाजिक विकासमन्त्रीले लिइन जिल्लाको अबस्थाबारे जानकारी

क्वारेनटाइनमा बसेका युवा पौडी खेल्ने क्रममा वेपत्ता भएपछि गण्डकी प्रदेशकी सामाजिक विकासमन्त्री नरदेवी पुनले जिल्ला स्थित सरोकारवालाबाट जानकारी लिएकी छिन् । बुधवार बेनी आएकी पुनले प्रमुख जिल्ला अधिकारी लगायतका सरोकारवालाहरुबाट घटनाबारे वास्तविक जानकारी लिएकी हुन् ।

उनले सो क्रममा कोरोना नियन्त्रण र रोकथामको लागि जिल्लामा क्वारेनटाईन र आइसोलेसनको क्षमताबारे जानकारी समेत मागेकी थिइन् । सो क्रममा प्रमुख जिल्ला अधिकारी ढकालले जिल्लामा २० वेड क्षमताको आइसोलेसन कक्ष स्थापना भैसकेको जानकारी दिएका थिए । उनले आबश्यक परेको खण्डमा जिल्लाको सबै स्थानीय तह र सदरमुकाम बेनीमा गरि ४ सय क्षमतासम्म क्वारेनटाइनको क्षमता विस्तार गरि सञ्चालन गर्न सकिने र सो अनुसारको आबश्यक तयारीलाई अघि बढाईएको जानकारी दिएका थिए ।