दरबाङको क्वारेनटाइनमा बसेका युवा पाैडी खेल्न जाँदा म्याग्दी खोलाले बगाएर बेपत्ता

  • २० जेष्ठ २०७७, मंगलवार
  • 1940 पटक पढिएको

म्याग्दी २० जेठ । म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरबाङ स्थित छ्यारछ्यारेमा रहेको क्वारेनटाइनमा बसेका एक युवा मंगलवार खोलामा पौडी खेल्ने क्रममा नदीले बगाएर वेपत्ता भएका छन् । क्वारेनटाइन नजीकै रहेको म्याग्दी खोलामा पौडी खेल्न गएका धवलागिरि गाउँपालिका–७ धारापानीका १९ बर्षिय राजेश थापालाई नदीले बगाएको हो ।

दिउँसो क्वारेनटाइनको सुरक्षार्थ खटिएका प्रहरीलाई झुक्याएर नदीमा पौडी खेल्न पुगेका युवालाई नदीले बगाएर वेपत्ता बनाएपछि खोजी कार्यलाई तिब्र पारिएको इलाका प्रहरी कार्यालय दरबाङका निमित्त इन्चार्ज बलराम पौडेलले जानकारी दिनुभयो ।

क्वारेनटाइन रहेको छ्यारछ्यारेदेखि निस्कोट जाने झोलुङ्गे पुल छेउबाट ती युवा पौडी खेल्नको लागि नदीमा पसेको पाईएको प्रहरीले जनाएको छ । भारतबाट आएका युवाहरुमध्ये मालिकाका १७ जना र धौलागिरी गाउँपालिकाका १ जना गरि १८ जनालाई उनीहरुको पीसीआर रिपोर्ट नेगेटीभ आएपछि बेनीको क्वारेनटाइनबाट मालिका गाउँपालिकाको क्वारेनटाइनमा सारिएको थियो ।