जलविद्युत आयोजनामा काम गर्न आएका मजदुरलाई नारच्याङ गाउँ प्रवेशमा रोक (भिडियो सहित)

  • १९ जेष्ठ २०७७, सोमबार
  • कमल खत्री
  • 1149 पटक पढिएको

कमल खत्री
बेनी १९ जेठ ।म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा सञ्चालित जलविद्युत आयोजनाहरुमा काम गर्न बाहिरबाट ल्याईएका मजदुरलाई गाउँ प्रवेशमा रोक लगाएपछि मजदुरहरु अल्पत्र परेका छन् । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणधिन निलगिरी जलविद्युत आयोजनामा काम गर्नको लागि सल्यान, सिन्धुपाल्चोक र नुवाकोट लगायतका ठाउँबाट ल्याईएका मजदुरहरुलाई स्थानीयबासीले गाउँ प्रवेशमा रोक लगाएका हुन् ।

ठेकेदार कम्पनीले उर्जा मन्त्रालयको अनुमती र कोरोना जोखिमलाई मध्यनजर गर्दै आरडिटी परिक्षण गरेर मात्रै आयोजनामा काम गर्नको लागि मजदुर ल्याएको जनाएपनि स्थानीयबासीले गाउँमा बाहिरबाट कसैलाई पनि प्रवेश नदिने भन्दै उनीहरुलाई प्रवेश गर्न दिएका छैनन् । गाउँ प्रवेशमा रोक लगाएसंगै आफुहरु अल्पत्र पर्ने अबस्थामा आएको सल्लानबाट मजदुर ल्याएर आएका समुहका नाइके प्रेम बस्नेतले गुनासो गर्नुभयो ।


‘‘ हामी पोखरामा आरडीटि परिक्षण गरी रिपोर्ट नेटेटिभ आएपछि मात्रै यहाँ आएका हौँ, यहाँ आएर पनि गाउँघरमा जाने होइन, आयोजनाको काम गर्न जाने हो, यहाँ आइसकेपछि गाउँलेले प्रवेश दिएका छैनन, कम्पनीले स्थानीयबासी र जनप्रतिनिधिसंग समन्वय गरिरहेको भनेको छ, तर कहाँ बस्ने, के खाने ठेगान भएको छैन’’– उहाँले भन्नुभयो ।


सिन्धुपाल्चोकबाट आएका अर्का मजदुर कालु तामाङले समेत काम गर्न पाउने /नपाउने निक्यौल नभएको र आउँदा ल्याएका खर्च समेत सकिएको बताउनुभयो । सिइ कन्ट्रक्सन मार्फत आयोजनामा काम गर्नको लागि मन्त्रालय मार्फत अनुमती पाएर आफुहरु यहाँसम्म आएको बताउँदै उहाँले राती गाडीमै सुत्नुपर्ने अबस्था आएको बताउनुभयो ।


कम्पनी मार्फत आयोजनामा काम गर्न आएका ३० जना बढी मजदुरहरु अहिले अल्पत्र परेका छन् । अन्नपूर्णकै वडा नम्बर ६ घारमा निर्माणधिन घारखोला जलविद्युत आयोजनामा काम गर्न ल्याईएका मजदुहरुलाई समेत स्थानीयबासीले गाउँमा नल्याउन चेतावनी दिएपछि पोखरेबगरमै रोकिएका छन् ।


नारच्याङ गाउँ प्रवेश गर्ने कालिगण्डकी नदीमाथि निर्माण गरिएको मोटरेवल पुलमा छेकबार लगाएर स्वयमसेवक खटिएर गाउँ प्रवेशमा कडाई गरिएको स्थानीय युवा विवेक पुर्जाले बताउनुभयो । विभिन्न जोखिमयुक्त ठाउँबाट आउनेहरुमा कोरोना संक्रमण हुन सक्ने र गाउँमा फैलन सक्ने जोखिमलाई मध्यनजर गर्दै गाउँलाई स्थानीयले पूर्ण रुपमा बाहिरबाट आउन रोक लगाईएको उहाँको भनाई छ । लकडाउनको सुरुवातमा घर फर्किएपछि आयोजनाहरुको काम प्रभावित बनेको अबस्थामा फेरी मजदुरहरुलाई काममा ल्याउन थालिएसंगै स्थानीयबासीबाट अवरोध आएकाले जोखिमलाई समेत मध्यनजर गर्दै समन्वयलाई अघि बढाईएको गाउँपालिकाका अध्यक्ष क्याप्टेन डमबहादुर पुनले बताउनुभयो ।


‘‘लकडाउन सुरु भएसंगै नजाउ भन्दा सबै मजदुरहरु घर गए, अहिले फेरी आयोजनाहरुले बाहिरबाट मजदुर ल्याउन थालेका छन्, स्थानीयबासीले कोरोना संक्रमणको जोखिम हुने भएकाले प्रवेश गर्न दिन्नौँ भन्छन्, के गर्ने हामी पनि अन्यौलमा छौँ’’–उहाँले भन्नुभयो । अहिले मजदुरहरुलाई आरडीटी परिक्षण र क्वारेनटाइनमा राखेर काममा लगाउने कि फिर्ता पठाउने भन्ने विकल्पमा छलफल चलाईएको छ ।


यता प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले जलविद्युत आयोजनाहरुले जिल्ला प्रशासन , स्थानीयबासी र स्थानीय तहसंग समन्वय नै नगरिकन बाहिरबाट मानिस ल्याएको बताउनुभयो । स्थानीयबासी र स्थानीय तहले स्विकार गर्ने र आयोजनाहरुले सुरक्षित रुपमा काममा लगाउने अबस्था आएमा उनीहरुलाई काममा लगाउन सकिने तर त्यस्तो अबस्था नआएमा उनीहरुलाई फिर्ता पठाईने उहाँको भनाई छ ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l