कोरोना संक्रमितको शव व्यवस्थापन सम्बन्धि नेपाली सेनाको पूर्व अभ्यास प्रदर्शन

  • १९ जेष्ठ २०७७, सोमबार
  • 2237 पटक पढिएको

म्याग्दी १९ जेठ । नेपाली सेनाले विश्वव्यापी महामारी रुपमा फैलिएको नोभेल कोरोना भाइरस (कोभिड १९) संक्रमितको शव व्यवस्थापन सम्बन्धमा पुर्व अभ्यास प्रदर्शन गरेको छ । कोरोना महामारी फैलिएपछि हुने सम्भावित जोखिमलाई मध्यनजर गर्दै कोरोना संक्रमितको निधन भएको अबस्थामा उनीहरुको सब ब्यबस्थापन सम्बन्धि डेमो प्रदर्शन गरिएको हो ।


नेपाली सेनाको श्रीबक्स गुल्म अर्थुङ्गे, म्याग्दी र बागलुङ्ग स्थित नं. २३ फिए बाहिनी अड्डाको संयुक्त आयोजनामा बेनी स्थित खुल्ला मञ्चमा डेमो प्रदर्शन गरिएको थियो । खुल्ला मञ्चमा गरिएको सो प्रस्तुतीमा पेइसेन्ट रिसिभिङ्ग टीम(पीआरटी)ले शंकास्पद संक्रमितलाई भेट्दा, संक्रमित मृतकको शरीर व्यवस्थापन, एम्बुलेन्स तथा सवारी साधनलाई डिसइन्फेक्ट गर्ने, यस कार्यमा खटिने सुरक्षाकर्मी, स्वास्थ्यकर्मीले अपनाउने व्यक्तिगत सुरक्षामा केन्द्रित रहेर अभ्यास गरिएको थियो ।

 


डेमोमा संभावित संक्रमित र संक्रमणबाट मृत्यु भएका व्यक्तिको तथ्याङ्क, मुचुल्का, परिवारको सहमति, परिवारको सदस्यलाई शान्तवना, दाहसंस्कार गर्नु अघि शब उठाउँदा र संस्कारका बेला अपनाउनु पर्ने सावधानी, मृतक बसेको स्थान(घर)को डिसइन्फेक्ट लगायतको कुरा समेटिएको थियो । शव व्यवस्थापनमा खटिएका नेपाली सेनाले व्यक्तिगत स्वास्थ्य सुरक्षाका लागि पीपीई प्रयोग गरिएको थियो । वास्तविक परिस्थितिमा सुरक्षा निकायबीच गरिने काममा एकरुपता ल्याउन मद्दत पुग्ने उद्देश्यले पूर्व अभ्यास प्रदर्शन गरिएको सेनानी सुरेश देवकोटाले जानकारी दिनुभयो ।


कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख देबेन्द्रबहादुर केसी ,बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ ,जिल्ला प्रशासन कार्यालय, म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल , स्वास्थ्य कार्यालय ,म्याग्दीका प्रमुख एक नारायाण लम्साल सहित जिल्ला स्थित सुरक्षा निकायका प्रमुख तथा विभिन्न क्षेत्रका सरोकारवालाहरुको उपस्थिती रहेको थियो । यसैगरी सोही अवसरमा नेपाली सेनाले आगलागि नियन्त्रण तथा व्यवस्थापन सम्बन्धी पुर्व अभ्यास प्रदर्शन गरेको थियो ।