नेपालमा एकैदिन थपिए ११४ नयाँ कोरोना संक्रमित, संक्रमितको संख्या ८८६ पुग्यो

  • १४ जेष्ठ २०७७, बुधबार
  • 900 पटक पढिएको

काठमाण्डौ १४ जेठ । बुधवार नेपालमा अहिलेसम्मकै धेरै कोरोना भाइरस संक्रमित थपिएका छन् । बुधबारमात्रै ११४ जना कोरोना संक्रमित थपिएसँगै नेपालमा कूल संक्रमितको संख्या ८८६ जना पुगेको छ । संक्रमित मध्ये १८३ जना निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण सिन्धुपाल्चोक, गुल्मी, बारा र बाँकेका गरी ४ जनाको मृत्यु भएको छ । यसैबीच हालसम्म पीसीआर विधिबाट ५८ हजार २ सय ७७ र आरडिटी विधिबाट १ लाख २ सय ८७ जनाको नमुना परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ३ हजार ५ सय ८० र आरडिटी विधिबाट २ हजार ३ सय २० जनाको नमुना परीक्षण भएको छ ।

बुधबार रुकुम पूर्वमा समेत कोरोनाभाइरसको संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोनाभाइरस संक्रमण ४७ जिल्लामा पुगेको हो । हालसम्म सबैभन्दा बढी संक्रमित बाँकेमा १७० जना रहेका छन् भने त्यसपछि कपिलवस्तुमा १०९ जना र रौतहटमा १०७ जना रहेका छन् ।